लगानी सम्मेलनको तयारी तीव्र, ४० देशका राजदूतसँग छलफल

काठमाडौं । सरकारले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका कामलाई तीव्रता दिएको छ। खास गरी लगानी सम्मेलनमा प्रतिष्ठित र सम्भावित लगानीकर्ता भित्र्याउने उद्देश्यसहित अर्थ मन्त्रालयले नेपालस्थित दातृ निकायका प्रमुख र विभिन्न मुलुकका राजदूतसँग भेटघाट र छलफललाई निरन्तरता दिइरहेको छ।

Advertisement 1

लगानी सम्मेलनको निर्देशक समितिको संयोजकसमेत रहनुभएका अर्थमन्त्री वर्षमान पुनले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरू र कूटनीतिक नियोग प्रमुखसँग एकै पटक छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकमा सम्मेलनमा सहभागी हुने लगानीकर्ताको सूची पठाउन आग्रह गरेका थिए।

बैठकका क्रममा उनले अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए। ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ,’ अर्थमन्त्रीले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नूस्।’

Advertisement 2

विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वलाई यसअघि नै निम्ता पठाइसकिएकाले सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन उनले आग्रह गरे।

लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको सो क्रममा उनले जानकारी दिए। त्यसका लागि एक दर्जनभन्दा बढी कानुन संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको कुरा लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन अर्थमन्त्रीले आग्रह गरे। ‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफल चलिरहेको छ,’ उनले भने ‘लगानीमैत्री कानुन बनाउन भइरहेका प्रयास बारे लगानीकर्ता र सरकारी एजेन्सीलाई भन्नूहोस्।’

Advertisement 3

यस्तै मन्त्री पुनले सरकारको मूल नेतृत्व उही रहेको र केही मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए।

गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै उनले सो समुदायमा पनि यो सन्देश प्रवाह गर्न राजदूतहरू र नियोग प्रमुखहरूलाई अनुरोध गरे। भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन पनि मन्त्री पुनले आग्रह गरे।

मुख्यसचिव बैकुन्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टसमेत सहभागी उक्त भर्चुअल बैठकमा संयुक्त राज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियालगायतका देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखको सहभागिता थियो।

प्रकाशित :२०८० चैत्र १८, आईतवार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry