रसुवा भन्सार कार्यालयमै राजस्व चुहिने ‘दुलो’:- मन्त्रीका आफन्त – कर्मचारीकै मिलेमतोमा भइरहेछ गडबड
नेपालको राजश्व आयातमा आधारित छ । यसमा सबैभन्दा बढी योगदान दिने भनेको भन्सारले हो तर त्यहाँ बसेका कर्मचारीहरुले लोभ गर्दा यहीबाट सबैभन्दा बढी चुहावट भइरहेको देखिन्छ ।
Advertisement 1
सात महिना अगाडि मेची भन्सार कार्यालयबाट सिधैं रसुवा भन्सार कार्यालयमा पुगेका प्रमुख भन्सार अधिकृत (राप्रपा) रामप्रसाद पाठक,झापाली एमालेका कार्यकर्ता हुन -पाठक। एक जना पूर्व सचिवको ज्वाई समेत पर्ने पाठककै कारण अहिले रसुवा भन्सारबाट व्यापक मात्रामा राजश्व चुहावट भइरहेको गुनासो भन्सार विभाग, राजश्व अनुसन्धान विभाग हुँदै अर्थ मन्त्रालयसम्म पुगेको छ । अर्थका हर्ताकर्ता सेवन्तक पोखरेलहरुको कृपाबाट मेचीबाट रसुवामा जम्प गर्न सफल भएका पाठकले पछिल्लो समयमा मन्त्रीद्धय प्रकाशशरण महत र मोहन बस्नेतका आफन्त व्यापारीहरुसँग मिलेर ‘तर’ मारिरहेको उजुरी भन्सारदेखि राजश्व अनुसन्धान विभागसम्म पुगेको छ । र,यो उजुरी पछि भन्सार विभागले छड्के गर्दा दुई वटा कैफियत भेटिसकेको छ । यद्यपि मन्त्री निकस्थ व्यापारीहरु जोगाइदै आएको छ ।
चीनबाट बढीमात्रामा तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, खेलौना, विद्युतीय सामग्री, स्पेयर पार्ट्स, स्याउ, ओखर, लगायत आयात हुँदै आएकोमा अप्रत्यासित रुपमा इभी गाडीहरु भित्रिएपछि भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामै ५ अर्ब १३ करोड ९९ लाख रुपैयाँ बराबरको राजस्व संकलन भयो । राजश्व उठाउनमा करामतै गरेको भनेर चर्चा गरिए पनि बास्तविकता चीनतिर ल्याइएको दुई सय भन्दा बढी इभी (इलेक्ट्रिक) गाडीका कारण राजश्व सोचेभन्दा बढी संकलन भएको हो । पछिल्लो समयमा पाठकले ठूला व्यापारीले ठूला व्यापारीसँग डिल गर्ने र साना व्यापारीहरुलाई आउट गर्ने गरी काम गरिरहेको इकर्मचारी डटकमको सम्पर्कमा आएका साना व्यापारीहरुले बताएका छन् ।
Advertisement 2
पाठकले आफू निकटका जाँचकीहरुलाई अगाडि सारेर सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको मूल्याङ्कनमा पक्षपात गर्ने गरेका व्यापारीहरुका आरोप छ। यो कार्यमा शाखा अधिकृत रविन्द्र प्याकुरेल र सुब्बा जाँचकी अर्जुन गौतमहरुको समूहले चीनतर्फबाट आयात भएका सामानहरु चेक जाँचको बाहनामा स्याम्पल बढी निकाल्ने, गुणस्तर फरक- फरक परेको भन्दै जरिवनाको त्रास देखाएर रकम माग गर्ने गरेका छन् ।अधिकृत प्याकुरेलले आफूलाई अर्थमन्त्रीको विश्वास पात्र भएको भन्दै आफै भन्सार प्रमुख भए सरह व्यापारीसँग डिल गर्ने गरेको आरोप छ।
रसुवा नाका हुँदै साना ठूला गरेर २५ देखि ३० व्यापारीहरुले सामान नेपाल भित्रयाउँदै आएका छन् । अर्थमन्त्रीका भाञ्जा अरुण थापादेखि स्वास्थ्यमन्त्री मोहन बस्नेतका नातेदार बुद्धराज बस्नेत र अर्काे काँग्रेसका व्यापारिक पार्टनर ईश्वर गुभाजु लगायतका व्यापारिक फर्मका सामानमा प्रज्ञापनपत्रमा गडबड गरी राजश्वमा हिनामिना हुँदै आएको बताइएको छ । कुनै पनि व्यापारीले चीनबाट सामान ल्याउँदा आधा ट्रक सामान त ल्याउँदैन तर यी व्यापारीहरुले ल्याएको सामान कम देखाउने,प्रज्ञापनपत्रमै गडबड गरी राजश्व हिनामिना गर्ने धन्दामा संग्लग्न रहेको आरोप छ पाठकका टोलीमाथि ।
एक ट्रक जुत्ता ल्याउदा झण्डै २० लाख राजश्व उठ्छ तर ठूला व्यापारीहरुलाई १२ लाख हाराहारी राजश्व लिएर छाड्ने र साना व्यापारीहरुसँग २२ लाखसम्म असुलिने प्रवृत्ति बढेपछि भन्सार प्रमुख पाठकले त्यहाँ मच्चाइरहेको लुटका विरुद्ध व्यापारीहरु अर्थमन्त्री महत,भन्सार विभागको हाकिमसम्मलाई कुरा पुर्याएका हुन ।दैनिक कम्तिमा पाँच वटा गाडी त्यहाँबाट छुट्दा कति राजश्व हिनामिना भइरहेको होला,आफैं हिसाब निकाल्नुहोस इकर्मचारीको सम्पर्कमा आएका ती व्यापारीहरु भन्छन ।
Advertisement 3
चीनबाट सामान आयात गर्ने ब्यापारीले ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी भन्सार छली हुँदै आएको यो नाकामा माथिसम्मका कर्मचारीहरुसँगको मिलेमतोमा दैनिक रुपमा भन्सार यार्डमै व्यापारीसँग मोलमोलाई गर्ने गरेको गुनासो छ । साथै उनीहरुले सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्दै आएको गुनासो सुनिन्थ्यो । व्यापारीहरुले आयात गरेको एउटै प्रकृति र मूल्यका सामानहरुलाई समेत विभिन्न प्रकारको भन्दै हुँदै नभएको तर्क अघि सारेर जरिवना तिराउने चेतावनी दिँदै रकम असुली धन्दा चलाउँदै आएका छन् ।
यता यही नाकाबाट प्रज्ञापनपत्रमा एउटा सामान लेखेर भेप आउने गरेको भेटिएको छ । भन्सार विभागको अनुगमन अघिल्लो बुधबार जाँचपास भइसकेको गाडी चेकजाँच गर्दा भेप भेट्टाएको छ । भेप बोकेको उक्त गाडी रसुवा भन्सार कार्यालय टिमुरेबाट पास भएर धुन्चे पार गरिसकेको थियो । गाडी धुन्चे पार गरिसकेपछि भन्सार विभागको टोली अनुगमनमा आएको सूचना तस्करले पाएपछि पुनः भन्सार कार्यालय टिमुरेमै फर्काइएको थियो । प्रज्ञापनपत्रमा अर्कै सामान लेखिएको भए पनि गाडीमा भेप भेटिएको थियो । दिपेश चालिसेको नाममा रहेका माँ ट्रेडर्स र बीएस ट्रेडर्सको नाममा उक्त भेप ल्याइएको खुलासा भएको छ ।
यस्तै सोही नाकाबाट लागूऔषधमा प्रयोग हुने १ सय ५० किलो कच्चापदार्थ बरामद भएको थियो । त्यसलाई परीक्षणका लागि ल्याबमा पठाइएको छ ।
आफ्नो धन्दामा भन्सार विभागबाटै अड्चन आइलागेपछि पाठक अहिले सेटिङ मिलाउन काठमाडौं आइपुगेका छन्,यद्यपि आफन्तको विवाहको बाहना बनाएर उनी यतै शक्तिकेन्द्रहरु धाइरहेका छन् ।