अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले बोलाए बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दैछन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ ।
Advertisement 1
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दिउँसो साढे ४ बजे बस्ने बैठकमा विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल गरिनेछ।
१ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताए । ‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
Advertisement 2
उनले त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने भन्दै सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याउने दाबी गरे ।