टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
तिलोत्तमा नगरपालिका, भैरहवा, रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्टको सेयर स्वामित्व आफूहरूले खरिद गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले पुष्टी गरेको छ ।
Advertisement 1
सेयर स्वामित्व विक्री सम्बन्धमा जानकारी दिन टाइगर प्यालेस रिसोर्टले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पुष्टी गरेका हुन् । ‘टाइगर प्यालेसमा रहेको अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयर स्वामित्व हामी गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्टले खरिद गरेको छ,’ सुवेदीले भने, ‘अब टाइगर प्लालेसमा सिल्भर हेरिटेज लिमिटेडको नामामा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर स्वामित्व पनि हिमालयन टाइगरमा हस्तान्तरण हुन आएको छ ।’
नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउने उनले बताए । गत असार ३१ मा उल्लिखित दुई कम्पनीबीच सेयर स्वामित्व हस्तान्तरण भएको पनि सुवेदीले बताए । यसरी अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको बताइएको छ । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्वलगायत अन्य व्यवसायिक दायित्व र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रूपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीले बताए । नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा आफूहरुले विदेशमा दुःख गरेर कमाएको आर्जनलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योग मार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेको सुवेदीले बताए । ‘पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धराशायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद होइन’, उनले भने, ‘नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकोले हामी केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौं । हाम्रो सानो कोशिसले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेका हौं ।’ रिसोर्ट १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको सुवेदीले बताए । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा रिसोर्ट सञ्चालन गर्न ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीले बताए ।
Advertisement 2
आफूहरुले गरेको प्रारम्भिक अध्ययनबाट करिब ४ अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने देखिएको सुवेदीले बताए । ‘रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैं आर्थिकरुपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो । सो कम्पनीको नेपालको सबै लगानी नोक्सानीमा गएका, टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको र बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको हो’, उनले भने । रिसोर्टको सेयर खरिद विक्री विदेशमै भएको बताइएको छ ।