अर्थ मन्त्रालयको प्रवक्तामा सह सचिव दाहाल
अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि एक जनालाई मन्त्रालयमा तानिएको छ । भंसार विभागका महानिर्देशक सुमन दाहाललाई अहिले अर्थ मन्त्रालयमा तानिएको छ । उनलाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
Advertisement 1
यसैगरी, झक्कप्रसाद आचार्यलाई आन्तरिक राजश्व विभागमा पठाएपछि रिक्त रहेको सार्वजनिक संस्थान तथा वित्तीय क्षेत्र समन्वय महाशाखामा दीर्घराज मैनालीलाई लगिइएको छ । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गतको विभाग हो ।
त्यसैगरि, सुमन दाहाल मन्त्रालयमा तानिएपछि भन्सार विभागको रिक्त महानिर्देशकमा यामलाल भुसाललाई पठाइएको छ । उनी यसअघि मन्त्रालयको नीति विश्लेषण महाशाखामा थिए । नीति विश्लेषण महाशाखाको जिम्मेवारी भने अहिले डा।रामप्रसाद घिमिरेलाई दिइएको छ ।
Advertisement 2
हाल मन्त्रालयमा रहेका तीन सहसचिवलाई बाहिर पठाइएको छ । आन्तरिक राजस्व विभागमा शम्भू मरासिनी र आनन्द काफ्ले उपमहानिर्देशक भएर गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा लक्ष्मी निरौलालाई पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।