एकै पटक फेरिए ४ विभागका हाकिम,को- को छन् डीजी बन्ने लाइनमा ?
सरकारले लामो रस्साकस्सी पछि ३१ जना सहसचिव सरुवा गर्यो । जहाँ ४ जना महानिर्देशकहरु समेत सरुवा हुनेमा परेका छन् । यसरी सरुवा हुनेमा राजश्व अनुसन्धान विभाग,सम्पत्ति शुद्धिकरण विभाग,यातायात व्यवस्था विभाग,वाणिज्य विभागका हाकिमहरु परिवर्तन भएका छन् । यस्तै सहकारी विभागका रजिष्टारलाई रक्षा मन्त्रालयतिर पठाइएको छ ।
सरकारले झण्डै तीन बर्षपछि राजस्व अनुसन्धान विभागको हाकिम परिवर्तन गरेको हो । ३३ महिना राजस्व अनुसन्धान विभागमा बिताएका दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा पठाइएको छ । मैनाली गत ०७५ जेठ ४ गते विभागको महानिर्देशक बनेका थिए । अर्थ मन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत लगेसँगै मैनाली महानिर्देशक भएका थिए। मैनालीलाई प्रधानमन्त्री केपी ओलीकै चाहनामा सरुवा गरिएको हो ।
Advertisement 1
उनीहरू बाहिरिँदा अर्थ मन्त्रालयबाट सहसचिवहरू गजेन्द्रकुमार ठाकुर र शिवादेवी दाहाल बाहिरिएका छन्। उनीहरू दुवैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगिएको छ। ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुने चर्चा छ। यस्तै रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा पठाइएको छ । त्यहाँका महानिर्देशकका रुपमा आचार्यको नाम पनि चर्चामा छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ। भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भट्टराईको कामबाट प्रधानमन्त्री ओली खुसी नभएको उनलाई राष्ट्रपति कार्यालयमा पठाइको बताइन्छ । राष्ट्रपति, उपराष्ट्रपति, सतर्कता केन्द्रमा सरुवा गरिनुलाई लखेटिएको मानिन्छ ।
यस्तै सहकारी रजिष्टार टोकराज पाण्डेको रक्षा मन्त्रालयमा सरुवा भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ। उनी सूचना प्रविधि विभागको महानिर्देशक हुने चर्चा छ।
यस्तै वाणिज्य दुत बन्नका लागि भरतपुर महानगरपालिकाबाट काठमाडौं आएका नेत्र सुवेदी पनि सरुवा हुनेमा परेका छन् । झण्डै १४ महिना विभागको कमाण्ड गरेका सुवेदीको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको छ।