चार संवैद्यानिक पद रिक्त, कुन नेताको लिष्टमा को ?
विभिन्न चार वटा संवैद्यानिक निकायका चार वटा आयुक्त पद रिक्त अबस्थामा छन् ।
Advertisement 1
महालेखा परीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल सिध्याएर जेठको ८ देखि घर गए । ८ जेठदेखि महालेखा परीक्षकको पद रिक्त हुन पुगेको छ । एमालेले सो पद पाउने पर्ने अडान राख्न थालेको छ । त्यहाँ अर्थ र राजस्व मामिलाका विज्ञ पूर्वसचिव शिशिरकुमार ढुंगाना ओलीको ‘गुड लिष्ट’ मा छन् । पूर्वगृह सचिव महेश्वर न्यौपाने पनि दौडधुपमै छन् ।
यस्तै निर्वाचन आयुक्त ईश्वरी पौडेल चुनाव गराएर फागुनदेखि घर गए । त्यहाँ एक आयुक्त रिक्त हुन पुगेको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगमा महिलाको कोटा खालि छ । लोकसेवा आयोगबाट पनि एकजना सदस्य खालि हुन लागेका छन् । लोकसेवा वा निर्वाचन आयोगमध्ये एकमा कांग्रेसले एकजना व्यक्ति तयार पारिसकेको बताइन्छ । राष्ट्रपति र कांग्रेस सभापतिको रुचीभित्र चार दिने पूर्वसचिव शंकरप्रसाद खरेल परेका छन् । उनका निम्ति नभएको दरबन्दी सिर्जना गरेर बढुवा दिइयो, चार दिनपछि मान्छे र दरबन्दी दुबै सँगै घर गए । रिक्त पदमा एक दिन सचिव भएर महाश्रम शर्मा, सूर्य आचार्य पनि घर गए । रिक्तमध्ये निर्वाचन आयोगका लागि पूर्वसहसचिव केदार पनेरुलाई केपी ओलीले पोहोरै बचन दिएको अवस्था हो ।
यी चारै पदमा भागवण्डा हुने किन पनि पक्का छ भने नियुक्तिसम्बन्धी निर्णयकर्ता संवैधानिक परिषद्मा केपी ओलीले आँ नगर्दासम्म अरुले पानी पनि पिउन पाउँदैनन् । प्रमुख प्रतिपक्षी दलको नेता आफैं, सभामुख र राष्ट्रियसभाका अध्यक्षसहित रास्वपाकी उपसभामुख आफ्नै, प्रधानन्यायाधीश प्रायः कामु अनि अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लै छन् त्यही कारण यी संवैद्यानिक निकायका नियुक्तिमा केपी शर्मा ओली निर्णयक छन् ।