अध्यागनमा कर्मचारी खटाउँदा आर्थिक चलखेलको आरोप,पूर्व गृह सचिव सिंह पनि मुछिए विवादमा
पूर्वसहसचिव बालकृष्ण पन्थीको कार्यदलले बुझाएको प्रतिवेदनै गृहका कर्मचारीहरु प्रयोग गरी हेरफेर गर्न विचौलियाका कारण श्रृजना भएको भुटानी शरणार्थी प्रकरण अहिले उत्कर्षमा छ । यही प्रकरणमा जोडिएर तत्कालीन सचिव टेकनारायण पाण्डे प्रहरीमा हिरासतमा छन् ।
पाण्डे पछि गृहमा भित्रिएका सचिव विनोदप्रकाश सिंहसमेत अछुतो रहेनन् । गृहमातहत कर्मचारीलाई मालदार मानिने त्रिवि अध्यागमन कार्यालयमा खटाइँदा बदमासी गरिएको र लाखौं रकमको चलखेल भएको उजुरीपछि अख्तियारले त्यसमा हात हालेको छ । दरबन्दीभन्दा बढी कर्मचारी खटाएको भेटिएपछि तत्कालीन गृहसचिव समेत विवादमा तानिएका छन् । दरबन्दीभन्दा ४७ बढी कर्मचारी खटनपटन गरिँदा त्यसको हिस्सा कर्मचारी प्रशासन फाँटका हाकिम हुँदै गृहसचिवसम्म पुगेको उजुरी अख्तियारमा परेपछि अख्तियारले यसको छानबिन गरी प्रतिवेदन पठाउन गृहलाई पत्राचार गरेको गृहस्रोतले जनाएको छ ।
Advertisement 1
त्यसबेला कर्मचारी प्रशासन फाँट हेर्ने उपसचिव गोकर्ण उपाध्याय, कृष्णप्रसाद शर्मा, शाखा अधिकृतद्वय कूलशेखर अर्याल र भाष्कर दाहालहरूको बदमासी कस्तोसम्म रह्यो भने, छानीछानी कांग्रेसनिकट कर्मचारीलाई त्यता खटाइने । यो क्रममा भ्रष्टाचार मुद्दामा अनुसन्धान चलिरहेका एक अधिकृतलाई समेत पुरस्कारस्वरूप त्यहाँ पठाइयो । अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेका अधिकृत कुमार पोखरेललाई गत फागुनमा त्यता हालियो । उनी निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका आफ्नै भाइ हुन् । गृहका इमान्दार दर्जनौं अधिकृतलाई पन्छाएर, आफैंले तयार पारेको मापदण्डलाई समेत कुल्चिएर त्यहाँ कुमारलाई पठाइँदा लाखौं रकम ‘बोलकबोल’ गरेको स्रोतले जनाएको छ । गृह बाहिरका क्याडर उनलाई त्रिवि अध्यागमनमा पठाइनुमा दाजु गोपालकै मुख्य सेटिङ रहेको त्यहाँका कर्मचारी सुनाउँछन् । कुमार तिनै पात्र हुन्, जो श्रम विभागमा कार्यरत रहँदा अकुत आर्जनमा डामिएर साढे तीन वर्ष निलम्बनमा परेका थिए ।
विशेष अदालतका न्यायाधीशहरूसँग सेटिङ मिलाएर सफाइ पाएका उनीविरुद्ध अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन छ । विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन रहेको हो । विशेषले सुनपानीले छर्किएपछि कुमार लोकसेवा आयोगमा पुगे । आयोगको दरखास्त व्यवस्थापन शाखामा २ वर्ष बढी समय बिताएका उनी लोकसेवाबाट गृहमा एक दिन पनि हाजिर नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा हाजिर हुन पुगेका थिए । जबकि रवि लामिछाने गृहमन्त्री हुँदा बनाइएको कार्यविधिमा गृह क्याडरभन्दा बाहिरबाट आएका कुनै पनि कर्मचारीलाई सीधै अध्यागमनमा पठाउन नमिल्ने प्रावधान राखिएको थियो । युनियनका अध्यक्ष पोखरेलको ठाडो दबाबमा भाइ कुमारसहित अघिल्लो लटमा सरुवा भएका १३ जना सोही निकायमा फिट गराइएको थियो ।
Advertisement 2
०७६ सालमा त्यही हुँदा अनियमितताको काण्ड लागेका कर्मचारीसमेत सेटिङ मिलाएर त्यहीँ पुगेका जनाइएको छ । त्रिवि अध्यागमन स्रोतका अनुसार त्यहाँ ६ जना उपसचिवको दरबन्दी भएकोमा अहिले ९ जना थुपारिएको छ भने दरबन्दीभन्दा २१ जना बढी अधिकृत, ११ जना नासु, ४ जना कम्प्युटर अपरेटर र ८ जना कार्यालय सहयोगी बढी लगेर थुपारिएको छ । यसरी त्यहाँ लगिएकामध्ये अधिकांश भ्रष्ट र विवादित कर्मचारीसँग मोटो रकम लिएर पठाइएको र सोको हिस्सा गृहसचिवसम्म पुगेको भन्दै अख्तियार गुहारिएको हो । त्यतिखेर कर्मचारी प्रशासन हेर्ने कर्मचारीमाथि सचिवसम्मलाई आर्थिक लेनदेनको हिस्सा पु¥याएको आरोप उजुरीमा लगाइएको छ । यसरी विवादमा मुछिएकामध्ये उपाध्याय रवि लामिछाने गृहमन्त्री हुँदा ११ दिने निजी सचिव भएर काम गरेका कर्मचारी हुन् ।
अख्तियारमा दायर भएको उजुरीमा कम्प्युटर अपरेटर कम्प्युटर अधिकृत मन्जुल मास्के तथा प्रशासन शाखामा कार्यरत अध्यागमन अधिकृतहरूले ड्युटिमा खटिने अध्यागमन अधिकृतहरूलाई सफ्टवेयर सिष्टममा अनाधिकृत मेनिपुलेट गरी आफ्नो अनुकुलको अधिकृतलाई प्रस्थान कक्षमा खटाउने र अवाञ्छित गतिविती गराई आर्थिक लाभ लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । त्यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटर एकराज केसी माओवादी केन्द्रका रूकुम काठमाडौं सम्पर्क समिति उपाध्यक्ष समेत हुन् । जनार्दन शर्मा गृहमन्त्री हुँदा कम्प्युटर अन गर्ने समेत सीप नभएका कर्मचारी भएको त्यहाँका कर्मचारीहरुले इकर्मचारी डटकमलाई बताएका छन् । यस्तै कम्प्युटर अपरेटर सुवोध घिमिरे र केशवराज भट्टको मिति २०७९ चैत्र १४ गते सरूवा भएकोमा गृह मन्त्रालयको सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुखलाई आर्थिक लाभ दिई हालसम्म रमाना नलिएको भेटिएको छ ।
Advertisement 3
केशव राज भट्टले ८० वैशाख १० गते रमाना लिई ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुन गृह मन्त्रालय सरूवा गराई सोही दिनदेखी सचिव विनोद सिंहको गैरकानूनी मौखिक आदेशका आधारमा पदस्थापना नै नगरी सोही कार्यालयमा हाजिर गरि कामकाज गरिरहेको समेत अध्यागमन स्रोतले जनाएको छ । उनी यस अघि पनि गैरकानुनी रूपमा दरबन्दी नभएको कार्यालयमा विना तलव भत्ता २० महिनासम्म कार्य गरेको बुझिएको छ ।
यस्तै सरूवा भैसकेका अध्यागमन अधिकृत गितादेवी ढकाल जो सोही कार्यालयमा कार्यरत उपसचिव झंकनाथ ढकालको भाई बुहारी समेत हुन्, र अध्यागमन अधिकृत दिपक पाण्डे समेतलाई रमना नदिई अनियमितता गरिरहेको कर्मचारीहरुले बताएका छन् ।
यसरी सरुवा भएका कर्मचारीहरुले समेत रमाना नलिइ सोही कार्यालयमा बसे वापत प्राप्त हुने लाभ सम्पूर्ण अध्यागमन अधिकृत उपसचिव, कार्यालय प्रमुख र मन्त्रालय र विभाग सम्मको टोलीले बाडीचुडी खाने गरेको सो कार्यका लागि प्रत्येक समुहमा समिति नामको विशेष समूह बनाई रकम बाडीचुडी खाने गरेको उक्त समूहमा सुरज निरौला, मोहन ज्ञवाली, दिपेन्द्र रावल, भास्कर दाहाल, कुमार पोखरेल लगायतका व्यक्तिहरू रहेकोले यस बिषयमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी दायर गरिएको छ ।
अख्तियार स्रोतका अनुसार यो उजुरीउपर आवश्यक छानबिन गर्न र स्पष्ट राय प्रतिक्रियासहितको छानबिन प्रतिवेदन पठाउन गृहलाई पत्राचार गरिएको छ ।