डेढ करोड सम्पत्तिको स्रोत नखुल्दा प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

गैरकानूनी सम्पत्ति कमाउने रौतहट ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो।ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उजुरीमाथि अनुसन्धान हुँदा गुप्ता सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गतेदेखि उनले आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७९ जेठ २५ गतेसम्मको अवधिको सम्पत्ति छानबिन गरेको अख्तियारले स्पष्ट पारेको छ।

गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा गुप्ताले सार्वजनिक सेवा प्रवेश गरेको २०५१ साल वैशाख २९ गतेको मितिदेखि आयोगमा सम्पत्ति विवरण पेस गरेको २०७९ साल जेठ २५ गतेसम्मको अवधिमा विभिन्न शीर्षकहरूमा भएका आयतर्फ र व्ययतर्फ गरी आयको अनुपातमा खर्च तथा लगानी गरेको व्यय एवं विद्यमान सम्पत्ति १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको आयोगको भनाई छ ।
गुप्ताले प्रचलित कानुन बमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन जानुका साथै मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ । उनले भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको आयोगले विज्ञप्तिमा जनाएको छ ।

Advertisement 2

गुप्ताले पदको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै गुप्ता तथा उनको श्रीमती उषा गुप्ताको नाममा हाल कायम सम्पत्तिबाट जफत गर्न मागदाबी गरिएको छ ।

यसैगरी गुप्ताले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिले श्रीमती उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माण लगायतमा गरिएको पाइएको छ । सो खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको सम्पत्ति बिगो र त्यसबाट बढेरबढाएको सम्पत्ति जफत गर्ने गरी उषा गुप्तालाई समेत प्रतिवादी कायम गरी निजको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदाबी लिएर आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित :२०७९ चैत्र २७, सोमबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry