सचिवका पनि आफ्नै छन् दु:ख
नेपाल सरकारका एक जना सचिव पदमा बढुवा भएको तीन बर्ष पछि बल्ल मन्त्रालयमा पुगेका छन् । शुक्रवारको क्याविनेटले चार जना सचिवको सरुवा गर्दा रामकृष्ण सुवेदी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका हुन । शिक्षा मन्त्रालयका सचिव यादबप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ सुवेदीलाई खटाइएको हो । त्यस्तै, लोक सेवा आयोगमा कर्णाली प्रदेशमा कार्यरत राजकुमार श्रेष्ठको सरुवा गरिएको छ । लोक सेवा आयोगमा सचिव पद खाली थियो । कर्णाली प्रदेशमा भने हालै बढुवा भएका डा गोपी खनाललाई पठाइएको छ ।
रामकृष्ण सुवेदी सहसचिव हुँदा काठमाडौंको सिडिओ, राजश्व अनुसन्धान विभागको हाकिम हुँदै गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख भएर काम गरे । सचिव बढुवा भए पछि प्रदेशमै दुई बर्षसम्म थन्काइए । पूर्व प्रधानमन्त्री केपी ओली सरकारले अन्यायपूर्वक रुपमा प्रदेशमा राखेको उनी गत वर्षमात्र उपराष्ट्रपति कार्यालयमा सरुवा भएको थियो । उपराष्ट्रपति कार्यालयबाट हाल शिक्षा मन्त्रालय पुगेका हुन् ।
केही यस्ता सचिव पनि छन् जो प्रदेशमा जानै पर्दैन । जस्तो अहिलेका अर्थसचिव मधुकुमार मरासिनीदेखि राजश्व सचिव कृष्णहरि पुष्करसम्म त्यस्ता भाग्यमानीमा पर्दछन् । यस्तै महालेखा नियन्त्रक सुमनराज अगर्याल पनि सिधै संघकै कार्यालयमा पदस्थापन भएका हुन तर केही यस्ता सचिव पनि छन् जो बढुवा भएको तीन बर्षपछि बल्ल मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
Advertisement 1
यस अघि बेगेन्द्रराज शर्मा पौडेलको पनि उही हालत पारिएको थियो । उनी सचिवमा बढुवा भएको साढे चार बर्ष पछि मात्र मन्त्रालयको जिम्मेवारी पाएका थिए । शर्मा सचिव बढुवा हुनासाथ तत्कालीन मध्यपश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय प्रशासकमा पदस्थापन भए । मध्यपश्चिमान्चलबाट पश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भयो । पोखराबाट उनी प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको अस्थायी प्रकृतिको निर्वाचन क्षेत्र निर्धारण आयोगमा सरुवा भए ।निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्वाचन आयोगमा सरुवा भएका उनी त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भए ।
खरिद अनुगमन कार्यालयबाट उनको सरुवा २०७६ भदौमा बित्त आयोगमा भएको थियो । सचिव बनेको साढे चार बर्षसम्म मन्त्रालयको जिम्मेवारी नपाएका उनी ५ महिना रक्षा सचिव बनेर उमेर हद लागेर घर फर्किएका छन् ।