‘एउटा केटोले छाडेर केही हुँदैन,युवाको हामीलाई कुनै कमी छैन’

प्रधानमन्त्री केपी शर्मा ओली योगेश भट्टाईमाथि खनिएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईमाथि कटाक्ष गरेका हुन्।
राजधानीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराईमाथि व्यंग्य गरेका हुन्।
Advertisement 1
आफूले हिजो चुनाव जिताउन सहयोग गरेका अन्य नेताहरु जस्तै प्रदेश १ को एउटा केटोले पनि अहिले आफूलाई छाडेर हिँडेको उनले बताए। ओलीले भने दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ, उसका लागि अनेकथोक गरियो तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त त्यही केटो पो रहेछ।’
योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनले बताए। ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ’, उनले भने, ‘एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन।’
Advertisement 2
काठमाडौंमा पराजित भइरहेपछि तत्कालीन एमाले नेता योगेश भट्टराई अघिल्लो चुनावमा टिकट लिएर ताप्लेजुङ पुगेका थिए। त्यसबेला पाहुनाका रुपमा गृहजिल्ला आएको भन्दै भट्टराईमाथि कटाक्ष गर्ने धेरै थिए।
२०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनअघि ओली ताप्लेजुङ पुगेका थिए। २०७४ कात्तिक १९ गते ताप्लेजुङ पुगेका ओलीले ‘तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो’भनेर भाषण गरेका थिए।
Advertisement 3
योगेशले चुनाव जितेर आए पनि प्रधानमन्त्रीले उनलाई तत्कालै मन्त्री बनाएनन्। मन्त्रिपरिषद्को पटक पटकको विस्तारका क्रममा ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका थिए। तत्कालीन एमालेमा माधव नेपाल गुटका नेता योगेशसहित दाहाल नेपाल समूहका सातजना मन्त्रीले गत पुस ५ गते सामूहिक राजीनामा दिएका थिए।
आफूले ताप्लेजुङ पुगेर चुनाव जित्न मद्धत गरे पनि नेकपामा देखिएको विवादका क्रममा योगेश दाहाल नेपालतिर लागेपछि ओलीले कटाक्ष गरेका हुन्। दाहाल नेपालका नेतामध्ये योगेश अहिले ओलीका सबैभन्दा आलोचकका रुपमा मैदानमा छन्।