यी मन्त्री पनि वाक्क


अन्य राजनीतिक दल र तिनका नेताले झैं संघीय व्यवस्था तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पनि नेकपाभित्रको पछिल्लो भाँडभैलो र संसद विघटनको सिफारिशलाई ‘दुर्भाग्यपूर्ण’ मानेका छन् । यसअघि तराई मधेश लोकतान्त्रिक दलमा रहेर पटकपटक सांसद तथा मन्त्री बनेका त्रिपाठी पछिल्लो संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर उठेका थिए । संसद विघटन अघिसम्म उनको हैसियत नेकपा सांसदकै थियो ।
पुस ५ गते आइतबार बिहान बोलाईएको आकस्मिक क्याबिनेट बैठकमा अन्य धेरै मन्त्रीहरूझैँ त्रिपाठी पनि पुग्दानपुग्दै काम तमाम भैसकेको थियो । पछिल्लो समयदेखि सत्तारुढ दल र सरकार प्रमुखबीच देखिएको किचलोलाई त्रिपाठीले ‘मुलुक र शासनसत्ता सञ्चालन गर्ने उन्नत तौरतरिका भन्दा पनि पँधेर्नीको घर झगडाजस्तो देखिएको’ बताउँदै आएका थिए ।
उनको बुझाईमा अहिलेको भाँडभैलो र सोसँग सम्बन्धित सबै काम प्रायोजित रूपमा भएको हो । विषम परिस्थितिमा भएको संसद विघटनबाट मूलतः विपक्षी दलहरूलाई लाभ हुने देखिए पनि चुनाव कहिले हुन्छ भन्न नसकिने उनको ठहर छ । त्रिपाठीका अनुसार तीन वर्षअघि प्राप्त जनादेशको पूर्ण परीक्षण नै भएको छैन ।
नेकपाको चालामालाले आफूलाई निराश बनाएको भन्दै उनी पछिल्लो चुनावदेखि गरिएको गठबन्धन गलत भएको निश्कर्षमा पुगेका छन् । समग्रमा नेकपाको मूल्याङ्कन गर्दा मन्त्रीले नेकपाभित्रको प्रवृत्ति गरिखाने खालको नदेखिएको र अधिकांश पात्र युज्ड र वाउटडेटेड भएको उल्लेख गरेका हुन् । अहिलेको अवस्था हेर्दा ‘कम्युनिष्टलाई वर्षौंसम्म धेरैले प्रयोग गरेका थिए भन्ने आरोपमा सत्यता देखिन थालेको’ पनि उनी बताउँछन् ।
अरु राजनीतिक दललाई सिध्याउन फरक धारको राजनीतिक दल वा विचार चाहिए पनि कम्युनिष्टलाई सिध्याउन कोही नचाहिने पटकपटक पुष्टि भएको पनि उनले बताए । अहिलेको परिणाम विचार जतिसुकै राम्रो लिएपनि कर्मचाँहि अर्कै गरेकोले भएको हो । चुनाव गर्नको लागि संसद विघटन नभएको भन्दै त्रिपाठीले ‘संघीयता र संविधान नै समाप्त गर्न उध्यत भएको हो भने घटनाक्रम थप मुठभेडतर्फ जाने सम्भावना बढेको’ दाबी गरेका छन् । दिक्क लागेको भावमा उनले भने ‘म नयाँ पार्टी घोषणाको तयारीमा छु । अब सूर्य चिन्हसँग कुनै लेनदेन हुँदैन ।’ विघटित संसदको लागि भएको यसअघिको चुनावमा त्रिपाठी र वृशेषचन्द्र लालले सूर्यचिन्ह लिएर जितेका थिए ।

प्रकाशित :२०७७ पुष ८, बुधबार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry