पूर्व एमाले ब्युँतदैं,बादल ‘सहअध्यक्ष’
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट आइतबार सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । पूर्व माओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट भने ओलीको पक्षमा देखिएका छन् ।
Advertisement 1
प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरेका छन् ।
तर पूर्व माओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । अन्य सात मन्त्रीले राजीनामा घोषणा गरिरहँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा थिए् ।
Advertisement 2
बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए । पछिल्लो समय नेकपाभित्रको विवादमा थापा ओलीकै साथमा देखिँदै आएका थिए ।
गत भदौमा विवाद उत्कर्षमा पुगेको बेला सानेपामा भएको प्रचण्ड–माधव नेपाल पक्षको भेलामा ओलीविरुद्ध अभिव्यक्ति दिए पनि उनी त्यसपछि फेरि ओलीतिर नै देखिँदै आएका थिए ।
Advertisement 3
पछिल्लो समय थापाले प्रचण्ड र ओली दुवैको प्रस्ताव फिर्ता हुनुपर्ने र पार्टीको विवाद मिलाउन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए, जुन बहुमतले अस्वीकृत भएको थियो ।
थापा निकट ती नेताका अनुसार ओलीले उनलाई संसद विघटनपछि पनि गृहमन्त्री कायम राख्ने र नेकपा विभाजन भएपछि बन्ने नयाँ पार्टीमा सहअध्यक्ष बनाउने आश्वासन दिएका छन् ।
‘संसद विघटनपछि पनि गृहमन्त्री रहिरहने र नयाँ पार्टीमा ओलीपछि दोस्रो नम्बरमा रहने गरी बादललाई सहअध्यक्ष बनाउने आश्वासन ओलीबाट आएको छ’, थापा निकट ती नेता भन्छन्, ‘त्यसैले आइतबार संसद विघटन भइसक्दा पनि उहाँको हावभाव ओलीतिरै रहने देखिएको छ ।’
थापा ओलीलाई साथ दिने पूर्व माओवादी पक्षका सबैभन्दा वरिष्ठ नेता हुने छन् ।
ओली निकट नेता महेश बस्नेतले आइतबार संसद विघटन भएपछि ‘अब पूर्व एमाले ब्युँताउने’ बताइसकेका छन् । थापा निकट नेताहरूले पूर्वम माओवादीकै नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, प्रभु साह, मणि थापा समेत ओली पक्षमै रहेको दाबी गरे पनि उनीहरूले आफ्नो कित्ता प्रष्ट गरिसकेका छैनन् ।