मधेस प्रदेश : खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Advertisement 1
पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।
बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए । उनका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार/चार, रौतहट र बारामा दुई/दुई नयाँ सङ्क्रमित थपिएका छन् भने मङ्गलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ , सप्तरीमा पाँच, बारा र रौतहटमा दुई/दुई तथा सर्लाहीमा एक नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जनाइएको छ ।
Advertisement 2
महामारी सुरु भएपछि प्रदेशमा सङ्क्रमणबाट हालसम्म ४१ हजार १२२ सङ्क्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । निर्देशनालयका अनुसार सङ्क्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।
सुरुमा सङ्क्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्दैसँगै सङ्क्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Advertisement 3
सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए । गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५५ प्रतिशत पुगेको उनको भनाइ छ ।
उनका अनुसार पूर्ण डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६७ , धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ । यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको सङ्ख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने सङ्ख्या बढी छ ।