दिपायल विमानस्थल स्तरोन्नतिका लागि प्राविधिक टोलीद्वारा अध्ययन

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नति हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि रु १८ करोड बजेट विनियोजन गरेसँगै विमानस्थल स्तरोन्नतिका लागि अध्ययन गर्न टोली दिपायल आइपुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्नुपर्ने जमिनको अवलोकन गरेको दिपायल विमननस्थलले जनाएको छ ।

Advertisement 1

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले दिपायल विमानस्थलको स्तरोन्नतिका लागि अध्ययन गरिरहेको बताइएको छ । टोलीले यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिका विषयमा राय–सुझाव मागेको दिपायलका स्थानीयवासी भरत द्वारियाले बताए । उनले भने, “मन्त्रीज्यूले बजेट विनियोजन गरेसँगै विमानस्थल विस्तारका लागि अध्ययन टोली आएको छ, राय–सुझाव मागेको छ, अब त ठूलो जहाज चल्छ कि खुशी लागेको छ ।” विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणसहित रु १८ करोड बजेट विनियोजन भएसँगै यो विमानस्थलमा ठूलो जहाज चल्नेमा यहाँका नागरिक निकै खुशी भएका छन् ।

अनुगमनका लागि आएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्रीसी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताए। उनले भने, “थ्रीसी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजनाअनुसार काम अगाडि बढाउने योजना छ, उक्त काम सम्पन्न भए दिपायलमा ७२ सिटे जहाज उडाउन सकिने छ ।” हाल दिपायल विमानस्थलको धावनमार्ग (रनवे) जम्मा ४५० मिटर मात्र रहेकामा स्तरोन्नतिका लागि एक हजार २०० मिटर लम्बाइ चाहिने अध्ययन अनुगमनमा आएको प्राविधिक टोलीले जनाएको छ ।

Advertisement 2

धावनमार्गको दुवैतर्फ गरी १५० मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिए । धावनमार्गको हालको चौडाइ जम्मा ६५ मिटरमात्रै रहेको बताइएको छ । हाल विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुने तथा दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जमिन अधिग्रहणका लागि यहाँका नागरिकले पनि सहमति दिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

प्रकाशित :२०७८ माघ १, शनिबार १९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry