फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिए । धोबीखोला करिडोरको अनुगमनका क्रममा उनले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनःअनुगमनमा आउने बताईन । मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
Advertisement 1
मन्त्री झाँक्रीको नेतृत्वमा मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको थियो । बबरमहलबाट सुरु गरिएको अनुगमन बूढानीलकण्ठ पुगेर सम्पन्न भएको थियो ।