दुर्व्यवहार गरेको अभियोगमा माओवादी अध्यक्ष पक्राउ

जिल्लाको परशुराम नगरपालिकाकी महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका स्थानीय नेता शेरसिंह माल ‘डायमण्ड’ पक्राउ परेका छन् ।
Advertisement 1
माओवादी केन्द्र परशुराम नगर कमिटिका अध्यक्ष रहेका ‘डायमण्ड’ जिल्ला सदरमुकाम डडेल्धुराबाट पक्राउ परेका हुन् । उनीमाथि मंसिर १० गते माओवादी केन्द्रको तर्फबाट परशुराम नगरपालिका वडा नम्बर ३ की निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।
परशुराम नगरपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य र ऐरले आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाइमन्डले दुर्व्यवहार गरेको भन्दै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
Advertisement 2
आफ्नो दाँतको उपचार गर्न र भर्खरै नेपाली कांग्रेसका जिल्ला सभापतिमा चयन भएका परशुराम नगरपालिकाका नगप्रमुख भीमबहादुर साउदको सम्मान कार्यक्रममा सहभागी हुन जोगबुडा जाने क्रममा नगर अध्यक्ष डाइमन्डले दुर्व्यवहार गरेको वडा सदस्य ऐरको दाबी छ ।
नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष डायमन्डलाई वडा सदस्य ऐर नेपाली कांग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएकाले उहाँले आफूमाथि दुर्व्यवहार गरेको वडा सदस्य ऐरले बताउनुभयो । ‘म त दाँतको उपचार र सम्मान कार्यक्रममा जान लागेकी थिएँ’, राजमतिले भन्नुभयो– ‘तर, कसैले डायमन्डजीलाई गलत सूचना दिएछ । रंगुन खोलानिर म सवार मोटरसाइकल रोकेर ममाथि हातपात र दुर्व्यवहार गर्नुभएको हो ।’
Advertisement 3
वडा सदस्य राजमतिका अनुसार डायमन्डले जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए । ‘मेरो पाखुरा समातेर मोटरसाइकलबाट जबर्जस्ती उतार्नुभयो । मेरो स्विइटरको बटनसमेत टुट्यो । तँ माथि मेरो सबै लगानी लागेको छ, भनेर तथानाम गाली गर्नुभयो’, राजमतिले दुखेसो व्यक्त गर्दै भन्नुभयो– ‘म एकल महिला, मेरो कोही छैनन् भनेर त्यस्तो अन्याय गर्नुभएकाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी हुँ ।’