कोभिड पोजेटिभ निजामती कर्मचारीलाई दुई साता बिदा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा

सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई कम्तिमा दुई साता बिदा दिने भएको छ । यो प्रस्ताव विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्याविनेटमा पठाएको छ ।
मन्त्रालयले क्याविनेटमा पठाएको प्रस्तावमा कोभिड संक्रमित कर्मचारीहरुलाई कम्तिमा १४ दिन आइसोलेसन बस्नुपर्ने भएका कारण स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार सरकारले १४ दिन नै बिदा दिन प्रस्ताव पठाइएको हो ।
मन्त्रालयले अस्ति मंगलबार नै कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिनेबारेको प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले इकर्मचारीसँग बताए ।
Advertisement 1
मन्त्रिपरिषद्ले पारित गरेपछि कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने प्रस्ताव कार्यान्वयनमा आउनेछ ।
हाल कोरोना संक्रमित कर्मचारीहरुले कार्यालय प्रमुख वा सो सम्बन्धमा अख्तियार प्राप्त शाखा वा निकायबाट बिदा स्वीकृति गराउँदै आएका छन् । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने प्रावधान रहेको छ । कोरोना संक्रमण भएको अवस्थामा सो बिदा अपुग रहेकाले बिदा थप गर्नुपर्ने कर्मचारीको मागअनुसार सो प्रस्ताव तयार गरिएको हो ।
कोरोना संक्रमित कर्मचारीहरु आइसोलेसनमा बसिसकेपछि महिनौं दिनसम्म रिपोर्ट नेगेटिभ नआएको भन्दै घर बिदामा बस्ने कर्मचारीको संख्या निकै रहेको छ । मन्त्रालयका अनुसार अहिले १ हजार ५ सयको हाराहारीमा निजामती कर्मचारी कोरोना भाइरसबाट संंक्रमित भइसकेका छन् ।