हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथाङ्कामा पनि यसै वर्ष पुग्ने

काठमाडौं। सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ। प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले भरपर्दो विद्युत् सेवा पाउने सुनिश्चित भएको छ।

Advertisement 1

यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्रीफेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको उल्लेख छ। त्यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

Advertisement 2

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तार गर्दै आपूर्तिलाई भरपर्दो बनाउन खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन्। राष्ट्रिय प्रसारण प्रणालीको विस्तारले स्थानीयस्तरमा विद्युत्को उपलब्धता र विश्वसनीयता बढाउनका साथै आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य राखिएको छ।

Advertisement 3

सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार निरन्तर अघि बढाइरहेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरपरिवारले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ।

हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ। अब किमाथाङ्कासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको त्यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।

प्रकाशित :२०८३ आश्विन २८, बुधबार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम