काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Advertisement 1
‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए।
जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उनले उल्लेख गरे। धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उनको भनाइ थियो।
Advertisement 2
जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए।
पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उनले प्रशंसा गरे।
Advertisement 3
उनका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए।
नवीन प्रविधिमा युवाको सक्रियताको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली तयार पारेको उदाहरण दिए।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना गरिएको बताए।
पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न, चोकमा बालबालिकाले सुरक्षित खेल्न र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले सुन्दर काठमाडौँ निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो।









