उजुरीपछि भन्सारका २७२ कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्ड बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं। सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि भन्सार विभागले २७२ कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ।
Advertisement 1
विभागले गत २० कात्तिकमा ६९ जना शाखा अधिकृत र २०३ जना नायब सुब्बालाई मातहतका विभिन्न भन्सार कार्यालयमा सरुवा गरेको थियो। तर, सरुवामा पारदर्शिता र न्यायोचित मापदण्ड पालना नभएको भन्दै गुनासो तथा उजुरी परेपछि अर्थ मन्त्रालयले उक्त निर्णयमाथि हस्तक्षेप गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि निमित्त अर्थसचिव डा. सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई लिखित पत्राचार गरेका थिए। सोही पत्राचारका आधारमा विभागले यसअघि गरेको सरुवा निर्णय बदर गरेको हो।
Advertisement 2
यसैबीच, अर्थ मन्त्रालयले सरुवा प्रक्रियामा अपनाइएको विधि र मापदण्डबारे आन्तरिक छानबिनसमेत सुरु गरेको छ। सरुवालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन स्पष्ट मापदण्ड निर्धारण गरी प्रविधिमा आधारित प्रणाली विकास गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिएका छन्।
अब भन्सारका कर्मचारीको सरुवा नयाँ मापदण्ड र प्रविधिमा आधारित प्रणालीअनुसार अघि बढाउने तयारी गरिएको छ। यसले कर्मचारी सरुवामा देखिँदै आएको स्वेच्छाचारिता र पहुँचका आधारमा निर्णय हुने गरेको गुनासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।









