अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा

बागलुङ। खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ।
Advertisement 1
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए।
गोर्खा वेल्फेयर ट्रष्टको रु ५८ लाख ५० हजार र स्थानीय उपभोक्ताको रु ९ लाख ७६ हजार गरी रु ६८ लाख २६ हजारको लागतमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत खानेपानी आयोजना निर्माण गरिएको हो।
Advertisement 2
जिल्लाकै पहिलो घरबास गाउँका रूपमा परिचित त्यस गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी खुसी छन्। आयोजनाको मर्मतसम्भार कोषमा नगरपालिकाले रु २ लाख र स्थानीय उपभोक्ताले रु ८३ हजार जम्मा गरेको उपप्रमुख खड्काले बताए।
गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि लीला पुन शेरचनले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय गाउँमा लामो समयदेखिको खानेपानी समस्या अब समाधान भएको बताए।
Advertisement 3
उपभोक्ता चन्द्रमती थापाले घरमै धारा आएपछि दैनिक जीवन सहज भएको बताए। उनले हिउँद र वर्षा दुवै समयमा शुद्ध खानेपानीको व्यवस्था भएकाले धाराको पानी सिधैँ पिउन सकिने बताए।
आयोजनाअन्तर्गत तीनवटा इन्टेक, एक कलेक्सन च्याम्बर, एक डेलिभरी ट्याङ्की, एक पम्प हाउस, एक रिजर्भ ट्याङ्की, चार जडसन च्याम्बर र पाँचवटा तारबार निर्माण गरिएको छ। आयोजनामा २ हजार ५८५ मिटर पाइप लाइन बिछ्याइएको उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ। पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई एकीकृत गरी आयोजना निर्माण गर्न गत वर्ष गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजना सम्पन्न भएपछि घरघरमा धारा पुगेको उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले जानकारी दिए।








