भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई उपलब्ध गराएको हो।
Advertisement 1
भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो। विपद्बाट प्रभावित परिवारको खोज, उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।
भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २,११,११,१११ को चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।
Advertisement 2
बैंकले अकल्पनीय विपद्मा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। त्यस्तै, सम्पर्कविहीन नागरिकको शीघ्र खोज तथा उद्धार र घाइतेहरूको प्रभावकारी उपचारको कामना गर्दै प्रभावित समुदायलाई आवश्यक सहयोगमा बैंक प्रतिबद्ध रहेको जनाएको छ।








