सचिव बढुवामा सिफारिस: पहिलो नम्बरका श्रीकृष्ण नेपालको आजै उमेर हद

काठमाडौं। रिक्त सचिव पदमा बढुवाका लागि ३ वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। पहिलो नम्बरमा रहेका श्रीकृष्ण नेपालको हकमा आजको दिन नै निर्णायक बनेको छ। ५८ वर्षे उमेर हदका कारण नेपाल आज निजामती सेवाको अन्तिम दिनमा छन्। सचिव बढुवा सिफारिस समितिले नेपालसहित नारायणप्रसाद भट्ट र विनोदबहादुर कुँवरको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राखेर सरकारसमक्ष सिफारिस गरेको छ।

Advertisement 1

तर पहिलो नम्बरमा रहेका नेपाललाई सचिव बनाउने हो भने मन्त्रिपरिषद्ले आजै निर्णय गर्नुपर्ने अवस्था छ। आज निर्णय नभए उनी भोलिदेखि अनिवार्य अवकाशमा जानेछन्। त्यसैले यसपटकको सचिव बढुवा अन्य नियमित बढुवाभन्दा फरक बनेको छ। नेपालको बढुवा हुन्छ कि सहसचिवबाटै अवकाश हुन्छ भन्ने विषय अब मन्त्रिपरिषद्को निर्णयमा निर्भर छ।

मन्त्रिपरिषद् बैठक नै अनिश्चित

Advertisement 2

नेपालको बढुवा सिफारिस भएको दिन नै उनको सेवाको अन्तिम दिन परेकाले सरकारसँग निर्णयका लागि समय निकै सीमित छ। तर आज मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्ने विषय स्पष्ट भइसकेको छैन। पछिल्लो समय आएको विपद्का कारण सरकारका मन्त्रीहरू उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा विभिन्न क्षेत्रमा सक्रिय छन्। यस्तो अवस्थामा मन्त्रिपरिषद् बैठकको समयसमेत अनिश्चित बनेको छ।

यदि आजै मन्त्रिपरिषद् बैठक बसेर नेपालको बढुवा स्वीकृत भयो भने उनी सचिव पदमा पुग्नेछन्। तर उनको सचिव पदको कार्यकाल भने केही घण्टामै सीमित हुनेछ, किनकि ५८ वर्षे उमेर हदका कारण आज राति १२ बजेपछि उनको निजामती सेवा समाप्त हुनेछ।

Advertisement 3

दुई महिनामा फेरिएको सचिव बढुवाको क्रम

पछिल्लो सचिव बढुवा प्रक्रिया पनि पटक–पटक फेरिएको वरिष्ठताको क्रमसँग जोडिएको छ। गत २८ साउनमा रोकिएको प्रक्रिया पुनः अघि बढ्दा कमलप्रसाद भट्टराई पहिलो, इन्दु घिमिरे दोस्रो र श्रीकृष्ण नेपाल तेस्रो नम्बरमा सिफारिस भएका थिए। सरकारले भट्टराईलाई सचिवमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको थियो।

भट्टराई सचिव बनेपछि रिक्त पदका लागि भएको अर्को सिफारिसमा इन्दु घिमिरे पहिलो, श्रीकृष्ण नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा परेका थिए। गत १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरी रक्षा मन्त्रालयमा पदस्थापन गरेपछि वरिष्ठताको क्रममा नेपाल पहिलो स्थानमा उक्लिएका हुन्। अब नेपालको नाम पहिलो नम्बरमा आए पनि उनको उमेर हदले बढुवा प्रक्रियालाई असामान्य अवस्थामा पु¥याएको छ।

प्रकाशित :२०८३ भाद्र १५, सोमबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry