कुमारी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं। कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।
Advertisement 1
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमनलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरण समेत उपलब्ध गराइएको छ।
Advertisement 2
बैंकका अनुसार एआई जडित निगरानी ड्रोन ५ वटा, ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर ३ वटा र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
खोज तथा उद्धारमा प्रविधिको प्रयोग
Advertisement 3
विपद् प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी, घटनास्थलको निगरानी तथा उद्धार कार्यमा ड्रोनलगायतका उपकरण उपयोगी हुने भएकाले बैंकले आवश्यक सामग्री उपलब्ध गराएको हो।
हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्यमा सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको जनाएको छ। बैंकले पछिल्लो सहयोगबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका काममा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
विपद्को कठिन अवस्थामा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै बैंकले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।








