महालक्ष्मी नगरपालिकाबाट ३० लाखसहित जनप्रतिनिधि र कर्मचारीको सहयोग

ललितपुर। रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा महालक्ष्मी नगरपालिकाले उल्लेखनीय सहयोग गर्ने निर्णय गरेको छ ।

Advertisement 1

महालक्ष्मी नगरपालिका नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले आफूले पाउने एक महिनाको सेवा–सुविधाबापतको रकम तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले एक हप्ता  बराबरको तलब सहयोग गर्ने त्यस्तै , नगरपालिकाको विपद् कोषबाट समेत गरि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाका अनुसार विपद्को समयमा स्थानीय सरकार नागरिकको दुःख र पीडामा साथमा उभिनुपर्ने मान्यताअनुसार सहयोगका कार्यक्रम अघि बढाइएको हो ।

Advertisement 2

ढुंगानाले विपद्का बेला मानवीय संवेदनालाई केन्द्रमा राखेर नगरपालिकाले तत्काल निर्णय गरी राहत तथा उद्धारमा योगदान पुर्‍याउनु सकारात्मक र अनुकरणीय काम भएको बताए। उनका अनुसार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत स्वस्फूर्त रूपमा सहयोग गर्ने निर्णय गर्नुले विपद्मा स्थानीय सरकारको मानवीय जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ ।

नगरपालिकाले प्रभावितको उद्धार, घाइते तथा बिरामीको ओसारपसारलगायतका कार्यमा सहयोग पुर्‍याउन नगर प्रहरीसहितको एम्बुलेन्ससमेत परिचालन गरेको छ । विपद्बाट प्रभावित तथा सम्पर्कविहीन अवस्थामा रहेका नगरपालिका भित्रका नागरिकबारे जानकारी प्राप्त भएमा सम्बन्धित वडा कार्यालय,  प्रहरी चौकी तथा सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा उद्धारमा सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Advertisement 3

प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको सक्रियतामा नगरपालिकाले विपद्को अवस्थामा प्रशासनिक निर्णयलाई मात्र प्राथमिकता नदिई तत्काल उद्धार, राहत र मानवीय सहयोगलाई केन्द्रमा राखेको देखिएको छ । विपद्का बेला जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाको स्रोतलाई प्रभावित नागरिकको पक्षमा परिचालन गर्ने यो पहल स्थानीय तहका लागि समेत उदाहरणीय बनेको छ ।

नगरपालिकाले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने प्रभावित तथा घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नगरपालिकाको यो निर्णयले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका केवल सेवा प्रवाहमा सीमित नभई संकटको समयमा नागरिकसँगै उभिने अभिभावकीय भूमिकासमेत निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry