शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन्।

Advertisement 1

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो।

त्यस अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत काम अघि बढाइरहेको जानकारी दिए। उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई पनि समेटिएको बताए।

Advertisement 2

मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधा अन्त्य, शिक्षकको पेसागत विकास तथा ‘डिजिटल’ शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए।

मन्त्रालयले अघि सारेका शिक्षा क्षेत्रका सुधारका विषयमा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न तयार रहेको मन्त्री पोखरेलले उल्लेख गरे।

Advertisement 3

उनले प्रारम्भिक बाल विकास (इसिडी) का शिक्षकलाई प्रारम्भिक ‘अटिजम’ पहिचान तथा ‘स्क्रिनिङ’सम्बन्धी तालिम दिने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिए। यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिइने उनले विश्वास व्यक्त गरे।

इयूका राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूका लागि महत्वपूर्ण प्राथमिकता मध्ये एक रहेको बताइन्। उनले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरीन्।

राजदूत लोरेन्जोले इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको सुधारका लागि आवश्यक ‘फ्रेमवर्क’मा काम गरिरहेको जानकारी दिइन्। उनले विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको विश्वास दिलाइन्।

प्रकाशित :२०८३ भाद्र १, सोमबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम