अब सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा, प्रधानमन्त्री कार्यालयले जारी ग¥यो मार्गदर्शन

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै सबै सरकारी निकायमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

Advertisement 1

नयाँ व्यवस्थासँगै नागरिकले सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन तयार गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ। एउटै विषयका लागि विभिन्न कार्यालयमा फरक शैली र ढाँचामा निवेदन बुझाउनुपर्ने अवस्थाले सेवाग्राहीमा हुने अन्योल र झन्झटसमेत कम हुने कार्यालयले जनाएको छ।

मार्गदर्शनले सरकारी कार्यालयमा निवेदन लेख्ने र पेश गर्ने प्रक्रियालाई थप सरल, सहज र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ। यसका लागि निवेदनमा समावेश गर्नुपर्ने विवरण र त्यसको ढाँचामा एकरूपता कायम गरिनेछ।

Advertisement 2

सरकारी सेवा प्रवाहमा कागजी प्रक्रियालाई क्रमशः घटाउँदै लैजाने र आवश्यक सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने नीतिसँग पनि यो व्यवस्था जोडिएको छ। निवेदनको निश्चित ढाँचा तयार भएपछि त्यसलाई भविष्यमा अनलाइन प्रणाली तथा मोबाइल एपमार्फत प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मार्गदर्शन कार्यान्वयनमा आएपछि सरकारी कार्यालयमा सेवाग्राहीले निवेदन पेश गर्दा अपनाउनुपर्ने प्रक्रियामा स्पष्टता आउनेछ। यसले सेवा प्रवाहमा एकरूपता कायम गर्नुका साथै सरकारी कामकारबाहीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Advertisement 3

नयाँ व्यवस्थालाई ‘डिजिटल नेपाल’ को अवधारणासँग जोड्दै परम्परागत कागजी प्रक्रियालाई क्रमशः विद्युतीय प्रणालीमा लैजाने आधारका रूपमा समेत हेरिएको छ।

प्रकाशित :२०८३ श्रावण २७, बुधबार १५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry