चितवनबाट गत १ वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन। जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन्। गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए। बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

Advertisement 1

उनका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उनले बताए।

यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो। सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ।

Advertisement 2

विगत ३ आर्थिक वर्षमा बेपत्ता मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ताका थिए। यसमध्ये ५४० जना भेटिएका थिए भने १३ जनाको खोजतलास भइरहेको उनले बताए।

उनका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन्। जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए। परेका निवेदनमध्ये ५ अझै छलफलका क्रममा छन्। आर्थिक वर्ष २०८१/८२ मा ५४२ निवेदन परेका थिए। यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो। ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए। यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए।

Advertisement 3

सोही समयमा २ हजार ३०५ ठाडा उजुरी परेका छन्। यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका १ हजार ८७८ वटा र जिल्ला प्रशसान कार्यालयबाट प्राप्त ४२७ ठाडो उजुरी प्राप्त भएको थियो। यसमध्ये २ हजार १०८ वटा मिलापत्र गरिएको छ। फछ्र्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित :२०८३ श्रावण १८, सोमबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry