चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित

चितवन। नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन्।

Advertisement 1

शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन्।

लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते हुनुभएको विरुद्धमा चितवन जिल्लाका अधिकांश अस्पतालमा उपचार सेवा बन्द गरिएको हो।

Advertisement 2

भरतपुर अस्पतालमा सोमबार ३ हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए। क्यान्सर अस्पतालमा १ हजार २००,  २ मेडिकल कलेजमा २ हजारभन्दा बढी र निजी साना अस्पतालमा ४ हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन्।

मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताइन्।

Advertisement 3

उपचारमा आएकी रन्जीत तामाङले बहिरङ्ग सेवा बन्द हुँदा आज उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गरीन्।

भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका २ मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन्।

नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए।

उनले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताए।

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गरेका छन्।

प्रकाशित :२०८३ श्रावण १२, मंगलवार १३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry