अब पेन्सन भुक्तानीमा यसरी बचत हुँदैछ राज्यको बार्षिक ५५ करोड

महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू गरेको छ । महालेखा नियन्त्रक कार्यालयले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीबाट सो रकम सिधै सम्बन्धित व्यक्तिको खातामा पुग्ने व्यवस्था गरेको हो । यो सँगै बैंकबाट सम्बन्धित व्यक्तिको खातामा हालिदिँदा हुने हिसाब मिलानको झन्झट अन्त्य भएको छ । अब देखि सरकारले जुन दिन खर्च लेख्छ त्यही सँम्बन्धित व्यक्तिको खातामा रकम पुग्ने छ ।

कार्यालयका अनुसार अहिले निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू छन् । उनीहरुको निवृत्तीभरणमा मात्र बार्षिक ५५ अर्ब रुपैंया खर्च हुँदै आएको महालेखा नियन्त्रक कार्यालयको भनाई छ ।

यस अघि बैंकहरुले नै पेन्सनवालाको खातामा रकम पठाउँदै आएकोमा अब सिधै महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित पेन्सनवालाहरुको खातामा पेन्सन रकम पठाउने भएको हो । यो प्रक्रियाले सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवासमेत प्राप्त हुने महालेखा नियन्त्रक मधुकुमार मरासिनीको भनाई छ ।
यस अघि बैंकहरुले आफै सम्बन्धित व्यक्तिको खातामा पठाएबापत सरकारले उसलाई एक प्रतिशत कमिशन तिर्नुपर्थ्यो । यसकारण सरकारको ५५ करोड कमिसनकै लागि खर्च हुने गरेको थियो । अब नयाँ व्यवस्थासँगै कमिशन रकम बचत हुने भएको महालेखा नियन्त्रक मरासिनी सुनाउँछन् ।यो प्रणाली शुरुवाता भएसँगै अब पेन्सनवालाको रकम सिधै महालेखा कार्यालयमार्फत भुक्तानी हुनेछ । यस अघि बैंकहरुले पाउँदै आएको १ प्रतिशत कमिसन अब नपाउने भएका छन् । यसरी राज्यको बार्षिक ५५ करोड रकम बचत हुने भएको हो ।

सेवा निवृत्त कर्मचारीलाई खुसीको खबर:- अब पेन्सन सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १२:०५

प्रतिक्रिया दिनुहोस्