बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं । सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। अभियानको पहिलो चरणमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।

Advertisement 1

लालपुर्जा प्राप्त गरेसँगै ती परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा जग्गाधनीको प्रमाण आवश्यक पर्ने विभिन्न सरकारी सेवामा सहज पहुँच पाउने भएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको नीतिअनुसार लालपुर्जा वितरण अभियानलाई देशभर विस्तार गरिनेछ।

Advertisement 2

मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। बर्दियाबाट सुरु गरिएको अभियानलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने उनले बताइन्।

मन्त्रालयले भूमिसम्बन्धी समस्या समाधान र नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ लालपुर्जा वितरण अभियानलाई तीव्रता दिइने जनाएको छ।

Advertisement 3

 

प्रकाशित :२०८३ असार १८, बिहीबार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry