वीरगन्ज नाकाबाट ७ महिनामा ४ सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा। वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा रु १ अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ। ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्य पर्ने १ सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ। ती सवारीसाधनको आयातबाट कार्यालयले रु ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ। चालु आवको ७ महिनामा रु ८० करोड ५७ लाखका मूल्यका हजार १ सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। जबकि गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका ३ हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो।

Advertisement 2

चालु आवको ७ महिनामा रु १ अर्ब १६ करोड १३ लाखका ६ सय ९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ। ती सवारीसाधनको आयातबाट कार्यालयले रु २ अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ। जबकि गत आवको ७ महिनामा भने रु १ अर्ब ५० करोड मूल्यका ७ सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो। सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु ३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो।

कार्यालयले चालु आवको ७ महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन्। जबकि गत आवको ७ महिनामा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।
–––

प्रकाशित :२०८२ चैत्र २२, आईतवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry