कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ। सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ। अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन्।
Advertisement 1
वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको हो।
हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन्। गोलभेँडा, काउली, बन्दकोभी, सिमी, खुर्सानी, हिउँदे आलुलगायत तरकारी उत्पादन हुँदै आएको छ। कतिपय किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्याससमेत थालेका छन्। तरकारी बिक्रीबाट घरखर्च धान्न र बचत गर्न सहज भएको किसानको अनुभव छ।
Advertisement 2
किसानले गरिरहेको प्रयासलाई निरन्तरता दिन वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। “यो क्षेत्रलाई तरकारी उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ”,)वडाध्यक्ष जयबहादुर तामाङले भने, “उत्पादन बढाउन सिँचाइ व्यवस्थापन र आधुनिक प्रविधि विस्तारमा पनि जोड दिएका छौँ।”
बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम र आसपासका बजारमा सहजै खपत हुने गरेको छ। यातायात पहुँच राम्रो भएकाले किसानले उचित मूल्य पाउने गरेका छन्। केही किसानले सामूहिक रूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास सुरु गरेपछि आम्दानी अझै वृद्धि भएको बताइएको छ।
Advertisement 3
कृषिलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यका साथ स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत पुगेको छ।
व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा पनि सकारात्मक सङ्केत देखाउन थालेको छ।














