वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

पर्सा। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने २ सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन्।
Advertisement 1
गत आर्थिक वर्षको ३ महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ। गत आवको ३ महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो। सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो। चालु आवको ३ महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए। गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो। सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु ९ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो।
Advertisement 2
चालु आवको ३ महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने २ हजार १ सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ। जबकी गत आवको ३ महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने १ हजार ४ सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो।










