नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको धार्मिक मेला

काभ्रेपलाञ्चोक। कात्तिक शुक्ल पूर्णिमा तिथि, पौराणिक कथानाुसार शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन। काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीयस्थल नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित छ।
Advertisement 1
नमोबुद्धस्थललाई ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामरकण भएको दस्तावेजमा उल्लेख छ। उक्त स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा चतुर्दशीदेखि प्रतिपदासम्म मेला लाग्छ। यस वर्ष उक्त मेला मङ्गलबारदेखि तीन दिनसम्म मनाइँदैछ। किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर नमोबुद्धमा बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना तथा दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको घुइँचो लाग्छ।
बर्सेनि लाग्ने मेलामा करिब ५० हजार जनाले नमोबुद्ध देवस्थलको दर्शन तथा पूजाअर्चना गर्ने गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्छ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिन्छ। नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा बत्ती बालिन्छ।
Advertisement 2
उनी भन्छन्, “यहाँ बर्सेनि पितृका लागि बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहिआएको छ।”
विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउछन्। उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका ३ छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल) मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छट्पटिएकी सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्ती छ।
Advertisement 3
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्छ। ”५ डमरु जन्माउने बघिनीलाई लक्ष्मी र ५ डमरु भिक्षु मानिएको हो, राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानीले सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो,” लामागुरु लामा भन्छन्, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ।”
संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ। उक्त पर्वत ८ हजार फिटको उचाइमा छ। सो पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति स्थापित छ। नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने स्थानीय राकेश लामा बताउछन्।
नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्छ। प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई २ दीपङ्कर बद्ध, अजा–अजिमासहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ। राजकुमारको जन्मघर काशिवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो।
धेरैजसो बुद्धमार्गी पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेका छन्। उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध) मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रूखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थे।
पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गरी नमोबुद्ध पुग्न सकिन्छ। हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्। गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ। काठमाडौँबाट ३२ किलोमिटरको दूरी टाढाको धुलिखेलबाट १८ किलोमिटर दक्षिणतर्फ नमोबुद्ध पर्दछ। यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूल्ठूला बुद्धमूर्ति र चैत्य छन्।
‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर पनि छ। यस पर्वतबाट पनौती तथा हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।










