उत्तरदायित्वको सर्कस

देश बोक्ने घोडा भनिन्छ, तर दलले टाँग्यो चढेर,
गुट गयो छातीमा बस्न, व्यक्ति बज्यो घण्टी घन्काएर।
जनता बन्यो जिराफजस्तै, टाउको माथि, आवाज तल,
जवाफ माग्ने संस्कार हरायो, नागरिक बन्यो पुतली हलचल।
Advertisement 1
सूचक र मापदण्ड कागजको गुलाब, कुर्सीको मुठ्ठीमा थुनियो,
शासन भयो ओठे मुस्कान, कागज चाटेर झुण्डियो।
बडापत्र राखे संग्रहालयमा, हेर्न टिकट काटेर जानु,
खोजपत्रकारिता बन्यो बाघको दाँत, फोटो खिचेर फर्कनु।
काम पन्छाउने हातमा टेपको प्वाँख, उड्यो फाइल बादलमा,
गोपनीयताको कालो चश्मा, सूचना हाँस्यो अदृश्य सन्देशमा।
प्रतिवेदन बन्यो रिसोर्टको मेनु, सार्वजनिक भए पनि नपाइने,
जिम्मेवारीको झोला बोक्ने नाटक, सत्ता नै बाँच्ने बहाना पाइने।
Advertisement 2
लोकतन्त्र भन्या छुच्चो हाँस, गुट दलको पोखरीमा पौडिन्छ,
अस्थिरताको हावा उड्छ, पारदर्शिता पातजस्तै झर्दैछ।
चेतना निदाएको घोडा, शिक्षा सुतेको कुकुर,
विभाजनले फाटेको टोपी, समाजको ढाँचा भत्केको ढुङ्गा।
कार्यसम्पादन मूल्यांकन? हाँसोको चुट्किला बन्यो,
इमानदारी हरायो, खोज्नेहरू ठट्टा बन्यो।
संघीयता बन्यो सेल्फीको पोज, संविधान बन्यो पेन्टिङ,
सूचना र सुशासन ऐन, भित्तामा झुण्डिएको पोस्टर रंगिन।
Advertisement 3
सर्वेसर्वा ठान्ने कर्मचारी, आफ्नै गन्ध नछाम्ने फूल,
कानुन पन्छाउने जादुगर, फाइल गायब बनाउने मूल।
समन्वयको साँचो हरायो, प्रशासन बन्यो भुत्लेको माला,
जनताको बज्रपात पर्खिदैछ, कब आउला मेलामा।
उत्तरदायित्वका प्रश्नहरूमा, मौनता बन्यो हावा,
जनताको सास फेर्न, जवाफदेहिता कहिले आउला?
सर्कसको यो चक्रभ्यूह, कहिले भत्किन्छ होला,
जवाफ माग्ने जमाना आउला, हाँसोले भरिने बेला!