कविता : जीवनका चिसा क्षणहरु

(०४४ फाल्गुण ७, भोजपुर हिरासत)                                                                                                हिरासत बसेको १४ दिन भै सकेको थियो । हिरासत भित्रको दुर्गन्ध र प्रहरीका पनि साहेव भन्ने साहेव ज्यूहरुका अश्लील गालि गलौज बाट एकनाशले टाउको दुखि रहेको थियो ।
घामका रापिला किरण शरीरमा परेको थिएन । जाडोले सताइरहेको थियो । भोजपुरका डी. एस.पी. बुट बजार्दै कथित प्रजातन्त्र दिवस मनाउन टुडिखेल झरे । म अनेरास्ववियुमा आवद्ध भई विद्यार्थी राजनीति गरि रहेको थिएँ । विद्यार्थी राजनीतिकै गतिविधिका कारण म पक्राउ परेको थिए । म प्रजातन्त्रको पक्षपाति हिरासत भित्र जर्जर अवस्थामा पल्सि रहें । पञ्चहरु जनताको आँखामा छारो हाल्दै कथित प्रजातन्त्र दिवस मनाइ रहेका थिए ।

Advertisement 1

जीवनका चिसा क्षणहरु

हाँस्न सक्तिनँ/ न रोएर शान्ति पाउँछु
छट्पटिन्छु /भूँमरी भित्र फसाइएँको छु
मन भरी योजना बनाउँछु
भत्कन्छ /फेरि भत्कन्छ ।

Advertisement 2

वरिपरि स्यालहरु छन /छन् फ्याउराहरु
गिद्धहरु छन /छन हुच्चिलहरु
बेला न कुबेला कराउँदै
एक निन्द्रा सुन्त पाएको हुँदैन
निन्द्रा खोशि दिन्छन ।

जिन्दगी बाँच्न गाह्रो छ /मर्न झनै साह्रो छ
अधकल्चो भइएको छ/अर्धचेतन छट्पटिएकएको छ
बलियाहरुको हातमा सबथोक छ
निर्धाहरुको हात रित्तो छ
कोही ब्वाँसा जस्ता छन /कोही सिंह जस्ता
कहिले रगत चाट्छन /कहिले मासु लुछ्छन
वर्वराउँछन /टोक्छन/झम्टन्छन
हामी निहत्थाहरु
न रात/न दिन
वर्वर/जर्जर/त्रशित परिवेशमा
ससंकित बाँचेका छौ /ससंकित हाँसेका छौ ।

Advertisement 3

हात छ लेख्न पाइदैन /मुख छ बोल्न पाइदैन
असत्य लेख्ने मन छैन /असत्य बोल्ने मन पनि त छैन
सत्य निर्वासित छ /न्याय रोइरहेको छ
यो यातना शिविरमा
न घर छ/न घाट छ
न खाना छ/न नाना छ
बाँच्नको लागि आफ्नै देश बिरानो छ ।

कोही गाना गाइरहेछन /कोही बजाना लेखिरहेछन
माथि छदम अवतारको
कोही हरे किर्तन जपिरहेछन
बुढो पशुपति नाथको ।

कोही भत्ता खोर/कोही घुस खोर
कोही मूर्ति चोर/कोही अफिम चोर
खोरै खोर/चोरै चोर
यो गण्डागोल र ववण्डरको मेरो देश
न बहादुर छोराहरुको सत्य कथा लेख्न पाइएको छ
न आमाहरुको सपना साकार पार्नै पाइएको छ
यो मेरो देश हो भनेर
न त गर्वले छाती फुलाउनै पाइएको छ ।

कसैलाई बन्दी बनाइएको छ
कसैलाई नाकाबन्दी तोकिएको छ
अस्तित्व जोगाउन गाह्रो छ /स्वाधीनता बचाउन साह्रो छ
छाती भरी जर्जर दमन छ
टाउको भरी वर्वर यातना छ
कोही जहरमा मस्त छन/कोही प्यालामा लस्त छन
कोही खालमा बसेका छन/कोही जाल हाल्न व्यस्त छन
मेरो देश
तिमी कुन जन्मको पाप भोग्दै छौ ?
गोमनहरु तिमीलाई डसिरहेछन
शकुनीहरु पासा फ्याँकि रहेछन ।

जीवनका चिसा क्षणहरु
जटील र कुटील छन
न्यायको माग गर्नेहरुलाई
अन्यायाको माखे साङ्लो भिराइएको छ
देश भरी
चाल/बाघचाल छ
काल/अकाल छ
फगत
तानाशाहरुको लागि
मोज छ/भोज छ
ऐश छ/आराम छ
यो यातना शिविरमा
हाम्रो
न घर छ/न घाट छ
न खाना छ/न नाना छ
बाँच्नको लागि आफ्नै देश बिरानो छ ।

प्रकाशित :२०८२ श्रावण ८, बिहीबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry