विर्तामोडमा खुल्यो कर्मचारी सञ्चयकोष सेवा केन्द्र
झापा। कर्मचारी सञ्चयकोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ। आज एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गरे। झापा, इलाम, पाँचथर र ताप्लेजुङका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको र यसले सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य हुने धितालले बताए।
Advertisement 1
कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत सेवा प्रवाह गरिरहेको भए पनि धितोमा आधारित कर्जालगायत अन्य सेवा प्रवाहका लागि स्थानीयस्तरमा सेवा केन्द्रको स्थापना महत्वपूर्ण रहेको उनको भनाइ थियो। सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले कोषमार्फत सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिए।
उनले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताए। कर्मचारी सञ्चयकोष ऐन २०१९ बमोजिम सञ्चय कोषले आवश्यक व्यवस्थापन गर्दै आएको छ।
Advertisement 2
हाल निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम विसं २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापनसमेत कोषले गरिरहेको शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताए।