बजेट वक्तव्य : सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने

अर्थमन्त्री पुन – व्रिफकेश काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं। सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने घोषणा गरे।

Advertisement 1

मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइने र अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ। अनलाइनमार्फत ई-भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिने नीति पनि सरकारले अघि सारेको छ। कारागारलाई सुधार गृहका रुपमा विकास गरिने पनि सरकारले बताएको छ। खुला कारागाारको अवधारणाअनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यम तथा रोजगारीसँग आबद्ध गरिने बजेट वक्तव्यमा उल्लेख छ।

कारागारमा कैदी बन्दीको चाप कम गर्न ‘प्रोवेसन’ र ‘प्यारोल’ को व्यवस्था कार्यान्वयनमा ल्याइने छ। साथै निर्माणाधीन १ हजार ३ सय ७० क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याउने सरकारी योजना छ। कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफतसम्बन्धी एकीकृत केन्द्रीय अभिलेख अद्यावधिक गरी कसूरजन्य सम्पत्ति तथा साधनको उचित व्यवस्थापन गरिने मन्त्री पुनले बताए।

Advertisement 2

अन्तर्राष्ट्रिय सीमा सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउँदै सीमा सुरक्षामा स्थानीय नागरिकको सहभागिता र अपनत्व बढाउने कार्यक्रम सञ्चालन गरिने सरकारले बताएको छ। गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइनेछ। बंकरदेखि ब्यारेकसम्मका कार्यक्रमलाई १ अर्ब ५० करोड रुपैयाँ विनियोजित गरिएको छ। राष्ट्रिय सेवा दल तालिमलाई स्थानीयस्तरसम्म विस्तार गरिने सरकारले घोषणा गरेको छ। रक्षा मन्त्रालका लागि ५९ अर्ब ८७ करोड रुपैयाँ विनियोजित गरिएको छ।

प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry