अर्थका क्याडरहरु छिन्नभिन्न,सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धानमा को- को बन्दैछन् हाकिम ?
सरकारले अर्थका क्याडर भनेर चिनिएका केही सहसचिवलाई छिन्नभिन्न पारेको छ । अस्तिमात्र ३१ जना सहसचिवको सरुवा गर्दा अर्थका क्याडरलाई सिधै शितलनिवासतिर पुर्याइएको छ । मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा रहेका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयतिर पुर्याइएको छ । सम्भवत उनलाई सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागको महानिर्देशक बनाइँदैछ । यस्तै रक्षा मन्त्रालयबाट सहसचिव रामप्रसाद आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा तानिएको छ । प्रम कार्यलय मातहतकै राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको ठाउँमा आचार्यलाई लैजाने तयारी छ । यता राजश्व अनुसन्धान विभागबाट अर्थमा तानिएका मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै मन्त्रालयले भन्सार विभागका हाकिम सुमन दाहाललाई मन्त्रालयमा तानेर त्यहाँ यमलाल भुसाललाई पठाइएको छ । यस्तै रामप्रसाद घिमिरेलाई आर्थिक नीति तथा विष्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै हिजोमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट अर्थमा ल्याइएका आनन्द काफ्लेले आन्तरिक राजश्व विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् । त्यहाँ शम्भु मरासैनीलाई पनि उपमहानिर्देशकको जिम्मेवारी दिएर पठाइएको छ । त्यस्तै, एयरपोर्ट भन्सारमा लक्ष्मीप्रसाद निरौला खटाइएको छ ।
यता सम्पत्ति शुध्दिकरण अनुसन्धानका महानिर्देशक रूपनारायण भट्टराईलाई भने राष्ट्रपति कार्यालय,शीतल निवासतिर ठेलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्त नबुझेपछि भट्टराईलाई शीतल निवास पुर्याउन परेको स्रोतले बताएको छ ।