केदार पनेरुको औपन्यासिक कृति -“सेता याक” (श्रृखंला २)
घाँस काटदा काट्दै निमाले फुर्वालाई जन्माएकी हो । च्याँरच्याँर बच्चाको आवाज आएको सुनेर निमाका दौतरी दौडिँदै पुग्दा निमाले घाँस काट्ने हँसियाले नाल काटिसकेकी थिई । घर लगेर धोइपखाली गरी पेमाले । निमाकोे पुरानो म्याक्सीमा गुटुमुटु पारेर राखी । लामा बोलाएर तामाब संस्कृति अनुसार बच्चाको नामकरण गरियो । फुर्वा नाम पायो बालकले ।
आजभोलि भन्दाभन्दै फुर्वाले सातौैँ वसन्त काटेको पत्तै पाइन निमाले । फुर्वा सात वर्षमा हिँड्दै थियो । निला आँखा, गोरो छाला, हँसिलो मुहारको फुर्तिलो थियो फुर्वा । गाउँभरिका बच्चाहरुमा बेग्लै देखिन्थ्यो ऊ ।कसैलाई देख्नासाथ मुसुक्क हाँसिदिन्थ्यो । उसलाई देखेर जति हतारमा हिँडेका बटुवाहरु पनि रोकिएर दुई चार कुरा गरिहाल्थे ।
एकसाँझ निमा बिरामी परी ।रुघाखोकीले सतायो उसलाई । शरीरमा ज्वरो निकै बढेको थियो । सकिनसकी उसले जाउलो पकाएर छोरालाई दिई । आमा बिरामी परेको दिनदेखि फुर्वा गाउँमा खेल्न पनि गएन । बिरामी आमाको छेउछाउमै बसिरह्यो ।आमालाई छिनछिनमा बाले ाइरहन्थ्यो । घरी कित्लीबाट तातो पानी निकालेर लगिदिन्थ्यो घरी
Advertisement 1
पेमाको घरबाट उवाको रोटी मागरे ल्याइदिन्थ्यो । छोराको व्यवहार र अनुहारले निमाको आधा बिमारी यसै घटेर जान्थ्यो ।
तुवाँलोले सर्लक्कै ढाकेको थियो त्यो बिहान । सय मिटरको दुरीमा रहेको छिमेकीको घर पनि देखिन्नथ्यो । तुँवालो लागे पनि हावा नचलेकोले अरू बेलाको जस्तो जाडो थिएन । निमाले सोची, गाई भोकै छ । हिजो पनि ज्वरोले थला परेर घाँस काट्न सकिन उसले । हरियो घाँस नपाएर रातभरि ड्वाँ.. ड्वाँ… गर्दै गाई कराएर ऊ निदाउनै सकिन ।
फुर्वा जन्मिएकै साल त हो उसले रिनपान गरेर त्यो गाई किनेकी । भर्ना भइसकेको कोरली ल्याएर बाँधेकी हो उसले आफ्नो थलामा । फुर्वा जन्मिनु अगिल्लो महिना कोरलीले पनि बाछी पाई । आफ्नो दुध राम्रोसँग नआए पनि फुर्वालाई कहिल्यै दुधको कमी भएन । त्यही भएर साहै्र मायाले पालेकी थिई निमाले खैरी गाई । त्यही गाई भोकले रातभरि कराउँदा उसलाई कसरी निद्रा परोस् ।
रातभरि छट्पटाउँदै बिताई र बिहान तुँवालो र ज्वरोको पर्वाह नगरी हँसिया बाकेर जंगलतिर लागी । हिजो जस्तो धेरै ज्वरो नभए पनि केही ज्वरो बाँकी नै थियो उसको शरीरमा । गोडा लगलग काँपिरहेका थिए । तर प्यारो खैरी गाईका लागि निमाले एक भारी घाँस काटी ।
सकिनसकी कोइरालाको रूखको आड लागेर उठी । शीतले गर्दा बाटो यसै पनि चिप्लो थियो । त्यसमाथि सल्लाका चिप्ला पातले त्यो सानो गोरेटो बाटो झन् चिप्लो पारेको थियो । जुठेभिरको उकालो अरू बेलै पनि निकै गाह्रो थियो । एउटा पाइलो मात्र अडिने साँगुरो बाटो थियो ।निमाले त्यो भिरको बाटो आधाउधी छिचोलिसकेकी थिई तर त्यसभन्दा माथि कहिल्यै जान नसक्ने गरी बिदा भई ।
निमाले खैँदीका अग्ला पहाड र निलो आकाशमुिन आफ्नो एक मात्र सन्तानलाई छोडेर सदाका लागि धर्तीबाट बिदा भई । घाँसको भारीसँगै जुठे भिरबाट निकै तल पुगेर ढुब्गामा बज्रेकी थिई ऊ । त्यही बाटो हुँदै पल्लो गाउँ जाँदै गरेको धामी कान्छाले देखेको हो निमा लडेको । सासै निस्केला जसरी दौडिँदै घर पुगेर उसले त्यो दुःखको खबर सुनाएको हो पेमालाई । त्यसपछि उसैले सारा गाउँलेले सुन्ने गरी चिच्याउँदै त्यो अप्रिय खबर सुनाइदियो । एकै छिनमा गाउँका बलिया युवाहरु मिलेर निमाको धुकधुकी मात्र बाँकी रहेको शरीर निकाले त्यो गहिरो खोल्साबाट ।
सास छउन्जेल आस भन्दै गाउँलेले हतार हतार बोकेर पुर्याएका थिए चैते गुम्बामा । गुम्बामा पु¥याएपछि एकपल्ट उसले वरिपरि आँखा घुमाई । उसको आँखाको इसारा बुझिन् पेमाले र हतार हतार फुर्वालाई उसको छेउमा राखिदिइन् । पेमाका आँखाका काप रसाए । पेमाले उसको हात समाउँदै भनिन्, ।मेरो छोरीजस्तै थियौ तिमी । तिम्रो नासोलाई म जतन गरेर हुर्काउँछु छोरी तिमीलाई स्वर्गमा शान्ति मिलोस् ।’
सबै स्तब्ध थिए । सबैलाई हेरेर हात जोरी पेमाले । फुर्वालाई हेरेर उसका आँखा टक्क अडिए । उसका दुवै हात लत्रक्क भुइँमा झरे । लामाले उसको नाडी छाम्दै उसलाई मृत घोषणा गरे ।
पुरै गाउँ शोकमा डुबेको थियो । सबैकी प्यारी बनेर गाउँलाई नै माइती जस्तो बनाइसकेकी थिई निमाले । निमाको मृत्युको धेरै दिनसम्म गाउँमा कसैको अनुहार हाँसेन । कसैको घरमा शुभकार्य भएन ।
Advertisement 2
क्रमश….