बनेपामा जालुद्यो जात्रा सम्पन्न

काभ्रे। काभ्रेपलाञ्चोकको बनेपामा मौलिक सांस्कृतिक पर्व जालुद्यो जात्रा सम्पन्न भएको छ। नेवार समुदायको परम्परा र संस्कृतिसँग जोडिएको जालुद्यो जात्रा परम्परागत विधिअनुसार भातबाट देवताको स्वरुप तयार गरी पूजा गरेर मनाउने गरिन्छ।
Advertisement 1
बनेपा नगरपालिका–५ स्वधा टोलस्थित दक्षिणकाली मन्दिरमा नित्य पूजा तथा हाँसको बलिसहित पूजा गरी सुरु भएको जात्रा असोज ११ गते साँझ जालुद्योलाई रथमा राखेर विभिन्न टोल तथा चोक परिक्रमा गराएपछि सम्पन्न भएको हो।
जात्रामा स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहेको बनेपा नगरपालिका–८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धराले बताइन्। उनका अनुसार परिक्रमा सम्पन्न भएपछि खट जात्रा गरी जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक विसर्जन गरिएको थियो।
Advertisement 2
बनेपाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको जालुद्यो जात्रा पुस्तौँदेखि स्थानीय समुदायले निरन्तरता दिँदै आएको पर्व हो। जात्राले स्थानीय संस्कार, संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन योगदान गर्दै आएको मानन्धराले बताइन्।
मानन्धरका अनुसार जालुद्यो जात्रासँग एक्लो छोरा भएका परिवारको पुरानो धार्मिक विश्वाससमेत जोडिएको छ। “स्थानीय जनविश्वासअनुसार पहिले राक्षसले एक्लो छोरा भएका परिवारका छोरालाई पालैपालो आफ्नो आहार बनाउने गर्दथ्यो। त्यसबाट जोगाउन दक्षिणकाली माता जालुद्यो बनेर राक्षसमाथि विजय प्राप्त गरेको विश्वास रहिआएको छ”, उनले भने।
Advertisement 3
संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज र थितिले सम्पन्न नेवार बस्ती बनेपामा विभिन्न मौलिक परम्परालाई स्थानीयले निरन्तरता दिँदै आएका छन्। नेवार बस्तीमा माथिल्लो टोल र तल्लो टोलको परम्परागत विभाजन समेत रहेको पाइन्छ।
जालुद्यो जात्राको विसर्जन गर्ने दिन बनेपाको तल्लो टोलमा बसोबास गर्ने स्थानीयवासीले ‘धौ मारी’ खाने परम्परालाई निरन्तरता दिँदै आएका छन्। स्थानीय किम्बदन्तीअनुसार जालुद्योको नाममा एक छाक खाना छाडेको सम्झनास्वरुप धौ मारी खाने चलन रहेको स्थानीय नेता पोटेले बताए।









