बाढी प्रभावितका लागि एनआईसी एशियाको २ करोड २१ लाख सहयोग

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि उद्धार तथा राहत वितरण गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको हो।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भदौ ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
Advertisement 2
बैंकका अनुसार भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको हो।
बैंकले आकस्मिक रूपमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
Advertisement 3
त्यसैगरी, हालसम्म सम्पर्कमा आउन नसकेका नागरिकहरूको शीघ्र तथा सकुशल उद्धारका लागि बैंकले कामना गरेको छ। घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत बैंकले कामना गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।








