ओली “दाहिना” भएपछि रोटेसनमा दम्पत्ती मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पूराना ४ जना मन्त्रीलाई राखेर बाँकीलाई बिदा गरे । कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेर मन्त्रिमण्डल बिस्तार गरेका हुन् । यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा पनि पार्टीबाट एकमात्र उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने तीन उपप्रधानमन्त्री थपेका हुन् ।
ओलीको मन्त्रिमण्डलमा बिगतमा मन्त्री हुँदा बदनामी कमाएर बाहिरिएका रघुविर महासेठलाई मन्त्री बनाएका छन् । उनको दम्पत्ती नै पालैपालो मन्त्री बनिरहेका छन् ।
ओलीले २०७४ सालमा प्रधानमन्त्रीको शपथ लिएपछि महासेठ मन्त्रिपरिषद्मा सहभागी भएका थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा थिए । २०७४ फागुनदेखि २०७६ मंसिरसम्म उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहे ।
अनेकन फण्डामा विवादमा मुछिएर उनी बाहिरिए पछि यातायात मन्त्रीमा बसन्त नेम्बाङलाई भित्राइएको थियो । ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीबाट हटाएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए।
५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गर्दा उनी कहिले नेपाल खेमा त कहिले ओलीतिर लागेका थिए । नेपाल खेमातिर लागेर कार्की बैंक्वेटको भेलासम्म पुगेका थिए । तर, लगत्तै पुस १० गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री बनिन् । अहिले ओलीले उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका छन्।
Advertisement 1
रघुवीर मन्त्रिपरिषद्मा भित्रिँदा उनकी श्रीमती भने बाहिरिएकी छन्। प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा लागेकी उनी मन्त्री बन्ने भएपछि ओली पक्षमा लागेकी थिइन्। उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको थियो।
Advertisement 2
यसलाई धेरैले यी दम्पतिको बार्गेनिङका रुपमा व्याख्या पनि गरे । जुलीकुमारी महतो २०७७ पुस देखि २०७८ जेठसम्म महिला, बालबालिका मन्त्री भइन् ।