कञ्चनपुर–कमला सडक विस्तारः ५ वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा। नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको ५ वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन।

Advertisement 1

सन् २०२० जुनमा चाइना रेलवे नं २ इञ्जीनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार यो सडक २८ अक्टोबर २०२३ मै सम्पन्न हुनुपर्ने थियो। साइट क्लियरेन्स र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो। हालै आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिना म्याद थपिएको छ।

कूल रु १६ अर्ब ८ करोड ५० लाखभन्दा बढी लागतको यो परियोजनामा पूर्वी खण्ड (कञ्चनपुर–कुसहा ३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड (कुसहा–कमला ४७.४ किमी) गरी २ भागमा काम भइरहेको छ।

Advertisement 2

पूर्वी खण्डः ६७ प्रतिशत प्रगति

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इञ्जीनियर राजीव झाका अनुसार यो खण्डमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ। चौबिस किलोमिटर सडक ४ लेनमा कालोपत्र भइसकेको छ भने ११३ कल्भर्ट र २० पुलमा सवारीसाधन गुड्न थालेका छन्।

Advertisement 3

६ लेन बनाउनुपर्ने बजार क्षेत्र कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर लगायतमा भने स्थानीय अवरोधका कारण काम सुस्त छ। इञ्जीनियर झाले भने, “प्राविधिक रूपले अनावश्यक ठाउँमा पनि नाला बनाउन स्थानीयको दबाब र विभिन्न अवरोधले गर्दा काम नियमित हुनसकेको छैन, यद्यपि थपिएको म्यादभित्रै काम सक्ने गरी लागेका छौँ।”

पश्चिम खण्डः ओभरपास र डिजाइनको सकस
पश्चिम खण्ड मिर्चैया कार्यालयको रिपोर्टअनुसार गत असोज मसान्तसम्म ३०.८५ किलोमिटर ४ लेन सडक निर्माण भएको छ। १ सय १२ कल्भर्ट र २५ पुलमध्ये १२ सञ्चालनमा आइसकेका छन्। तर, गोलबजार खण्डमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कामले गति लिन सकेको छैन।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपासका लागि पाइल फाउण्डेसनको काम भइरहेको छ। लहानमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसनको काम गरिएको उनले बताए। लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माण पनि सकिएको छ।

धुलो, धुँवा र दुर्घटनाको जोखिम
निर्माण कार्यमा भएको ढिलाइले मुख्य बजार क्षेत्रका बासिन्दा र यात्रुले चरम सास्ती भोग्नुपरेको छ। विशेषगरी लहान र मिर्चैया खण्डमा ओभरपास निर्माण सुस्त हुँदा सडक अस्तव्यस्त छ। सडकको दुवैतर्फ बनाइएका साँघुरा डाइभर्सन र उड्ने धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ। पुलका रेलिङ, रङ्गरोगन र एक्सपान्सन ज्वाइन्ट जस्ता फिनिसिङका काम अझै बाँकी रहँदा यात्रा जोखिमपूर्ण बनेको छ।

त्यस्तै, मुख्य सडक ४ लेन र बजार क्षेत्रमा ६ लेनको हुने यस सडकमा पुल, कल्भर्ट र ओभरपास जस्ता संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी रहेका छन्। एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको यो सडक विस्तारमा भेरिएसनसहित करिब रु १६ अर्ब ८ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ।

प्रकाशित :२०८२ माघ १, बिहीबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry