बाहिरबाहिरै दुरुपयोग भएका फन्डहरु धेरै छन्
चारैतिर हरियाली । वरपरका हरिया घाँसदुबो एवम् विभिन्न फलफूलका बोटबिरुवाले मनै लोभ्याउने शान्त रमणीय छ यहाँको वातारण । त्यसमाथि पानीको फोहोरा छुट्ने पोखरी अनि एक छेउमा देवीदेवताको मन्दिर पनि कम्ती मनमोहक छैन । यो प्रसंग हो, ब्युटीफुल माइन्ड रिह्याबिलिटेसन सेन्टरको । यहाँ लागुऔषधको दुर्व्यसनदेखि लिएर हरेक किसिमका मानसिक रोगीको ममतामयी वातावरणमा उपचार हुने गरेको छ । चितवनको खैरहनी ११, गैंडाहामा स्थापित पुनस्र्थापना केन्द्रमा मनोरोगीको उपचार मात्रै नभएर उनीहलाई सीपमूलक तालिमका साथै दक्षता हेरेर रोजगारीको अवसरसमेत प्रदान गर्ने गरिएको अध्यक्ष डा. गिरीराज भन्ताना बताउँछन् । पिता केदारनाथ र माता गंगाको कान्छो सुपुत्रको रुपमा २०३० सालमा जन्मिएका गिरीले माध्यमिक शिक्षा रत्ननगरकै पञ्चकन्या माविबाट लिएका हुन् । त्यसपछि विश्व निकेतन कलेज हुँदै चितवनकै पुरानो मेडिकल कलेजबाट एमबीबीएस सकेर आईओएम महाराजगञ्जबाट साइकियाटिमा एमडी गरेका हुन् । उनले भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायत विभिन्न प्राइभेट अस्पतालहरुमा काम गरिसकेर पछिल्लो समय आफैंले पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याएका हुन् । ब्युटीफुल माइन्ड इन्ष्टिच्युटका उनै अध्यक्ष भन्तानासँग अजय गोर्खालीले गरेको कुराकानी ।
Advertisement 1
मनोरोगको पहिचान कसरी गर्ने ? यसका लक्षणहरु के के हुन सक्छन् ?
जब व्यक्तिको मन, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ भने त्यो मनोरोग हो । सोको महसुस व्यक्ति स्वयम् र वरपरका लाई पनि हुन्छ । विभिन्न किसिमका मनोरोगका लक्षणहरु पनि थरीथरीकै हुन्छन् । जस्तै साबिक भन्दा कम वा बढी बोल्नु, धेरै खुशी हुनु वा धेरै दुःखी हुनु, नभएको आवाज सुन्नु, नभएको दृश्य देख्नु, अनायासै रिसाउनु, झैंझगडा गर्नु, दुर्घटना निम्त्याउनु, बेहोस हुनु इत्यादि ।
यसका कारणहरु केके हुन सक्छन् ?
एउटा त वंशाणुगत कारण हुन्छ । अर्काे पारिवारिक तथा सामाजिक घटनाक्रमले पनि व्यक्ति मानसिक रोगी बन्न पुग्छ । मस्तिष्कमा हुने रसायनको उतारचढाव नै मनोरोगको कारण हो ।
रिह्याबिलिटेसन सेन्टरको अलावा साइकियाटि अध्ययन, अध्यापन गराउने इन्ष्टिच्युट सञ्चालन गर्ने पनि तपाईंहरुको कार्ययोजना रहेछ । यसबारे केही बताइदिनुहोस् न ?
हो हामी छिट्टै त्यो एकेडेमी सञ्चालनको तयारीमा छौं । साइकियाटि अध्ययनको यस्तो सुविधासम्पन्न एकेडेमी, जो नेपालकै पहिलो हुनेछ । त्यसपछि साइकियाटि अध्ययनका लागि कोही पनि बाहिर धाउनुपर्दैन । चितवनमै यथाशीघ्र त्यो एकेडेमी सञ्चालनको तयारीमा हामी जुटेका छौं । ब्युटीफुल माइन्ड साइकियाटि अन्तर्गत नयुरो साइकियाटि हस्पिटल, रिह्याबिलिटेसन सेन्टर, एकेडेमी, रिसर्च सेन्टर र अकुपेसनल थेरापी सेन्टर सञ्चालनको प्रक्रियामा हामी छौं ।
शारीरिक रोग जस्तै मानसिक रोगबाट पनि पूर्णरुपमा पार पाउन सकिन्छ त ?
अँ, सही औषधोपचार पाए मानसिक समस्याबाट पनि पूर्ण रुपमा पार पाउन सकिन्छ । जस्तो कि लक्षण नहुनु, अस्तव्यस्त जीवनशैलीमा सन्तुुलन आउनु, कार्य क्षमता प्रतिस्थापित हुनु आदि ।
होसहवास नै नभएको, अरु र आफूलाई समेत नचिन्ने गरी पागलै भएका मानिसहरु पनि उपचार पछि निको होलान् ?
पहिलो कुरो त पागल भन्ने शब्द नै गलत हो । किनकि त्यो एउटा बिरामी हो, हुन सक्छ कडा समस्या । तर सही औषधि उपचारले एकदम निको हुन्छन् । धेरै पुरानो रोगमा अलि बढी समय लाग्न सक्छ । तर लक्षण भने निको पार्न सकिन्छ । परिवार, समाज र राष्टकै निम्ति बोझ बनेका मानिसलाई सक्षम बनाएर परिवार, समाज र राष्टका लागि योगदान गर्न सक्ने बनाउन सकिन्छ ।
साइकियाटि औषधिको लत लाग्छ, पछि नभई हुँदैन भनिन्छ नि के हो ?
सबै साइकियाटि औषधिको लत लाग्दैन । त्यसका लागि उचित हिसाबे आवश्यकता अनुसार डाक्टरको निगरानी तथा परामर्शमा औषधिको सेवन गर्नुपर्ने हुन्छ । औषधिले व्यक्तिको मस्तिष्कमा चाहिने केमिकललाई सन्तुलित बनाउँछ । जसले गर्दा बिरामीको मानसिक स्वास्थ्यमा कुनै लक्षण देखिँदैन । जीवनस्तर सुधारिन्छ । कार्यक्षमता प्रतिस्थापित एव्म् अभिवृद्धि हुन्छ । यस्तो अवस्थामा लामै समय औषधि खानुपरेपनि सञ्चो नभएको मानिँदैन । त्यसो त सुगर प्रेसरको औषधि पनि त मानिसहरुले लामो समय अर्थात् जीवनभर खाएकै छन् त । आफू ठिक भइन्छ भने औषधिसँग डराउने किन ?
कुनै पनि बिरामीको आधा व्यथा त परिवार, समाज र स्वास्थ्यकर्मीहरुको माया ममताले नै ठिक हुन्छ । तर धेरै जसो रिह्याबहरुमा क्लायन्टलाई हप्कीदप्की गर्ने, कुटपिट गर्दै सांग्लाले बाँध्ने, फलामको बाक्सामा कोच्ने समेत गरिन्छ । यसबारे के भन्नुहुन्छ तपाईं ?
हो बिरामीलाई यातना दिएर ठिक हुने होइन । त्यसो गर्नु भनेको उसको रोग अझ बढाउनु हो । तर कहिलेकाहीँ ऊ आफैं र अरुको समेत सुरक्षाको लागि क्लायन्टलाई कडा निगरानीमा वा शारीरिक नियन्त्रणमा राख्नुपर्ने स्थिति पनि आउँछ,
एकजना क्लायन्टको फि कति लिनुहुन्छ ? गरीब, असहायलाई निःशुल्क औषधोपचारको व्यवस्था छ कि छैन ?
हाम्रो लागत नै महँगो छ । हामीकहाँ सुविधा पनि धेरै छन् ।सरकारी, गैरसरकारी निकाय कतैबाट पनि सहयोग भनेर पाएका छैनौं । तैपनि विपन्न, असहाय १० प्रतिशत बिरामीको हामीले निःशुल्क उपचार गरिरहेका छौं ।
सरकारी, गैरसरकारी निकाय कतैबाट अहिलेसम्म कत्ति पनि सहयोग आएकै छैन त ?
हामीकहाँ त कुनै पनि फन्ड आइपुगेको छैन । तर बाहिरबाहिरै दुरुपयोग भएका फन्डहरु धेरै छन् ।
डाक्टरी पेशा आफैंमा एउटा सेवामूलक धर्म हो । तर हिजो आज डाक्टर, प्राविधिक लगायत नर्सहरु आफ्नो सेवाधर्म बिर्सिएर पैसामुखी भएका छन् नि । यस सम्बन्धमा के छ तपाईंको धारणा ?
डाक्टर तथा स्वास्थ्यकर्मी भएर पैसाको पछि मात्रै कुद्नु एकदम गलत हो । हुन त कार्यसम्पादनको लागि खर्च त चाहिन्छ नै । तर बिरामीबाट लिएको पैसा आफ्नो व्यक्तिगत स्वार्थ तथा सुविधाको निम्ति नभई बिरामीकै उद्धारमा खर्च गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो । म आफू पनि त्यही अनुसार अघि बढ्दैछु ।
http://beautifulmind.com.np/message-from-chairman/
Advertisement 2