प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, माओवादी छाडेकालाई अर्थमन्त्री उपहार !

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले केही मन्त्रीलाई बर्खास्त गरेका थिए भने केहीले राजीनामा गरेका थिए ।

Advertisement 1

नयाँ मन्त्रीहरूलाई आजै दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुने भएका छन्। दुवै जनालाई आआफ्नै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी दिइने भएको हो।

यस्तै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, माधवकुमार नेपालको समूह छाडेर आएकी उषाकला राईलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइने भएको छ । यसैगरी प्रदेशसभा सदस्य कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाउने तयारी छ।

Advertisement 2

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर अभियान चलाएपछि इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजनामन्त्री पदबाट गत पुस ११ गते बर्खास्त गरिएको थियो। त्यसयता यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राई आफैंले सम्हालिरहेका छन्। यस्तै तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले गत पुस १२ गते राजीनामा दिएका थिए।

 

प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry