यता बालकृष्ण रिहा,उता कर्तव्य ज्यान मुद्दामा निलम्बित सांसदलाई सफाइ

नेपालको न्यायलयले एकै दिन हाइप्रोफाइवालाहरु जोडिएको मुद्धाको फैसला गरेको छ ।जसमा पूर्व मन्त्री धरौटीमा रिहा भएका छन् भने कर्तव्य ज्यान मुद्धामा निलम्बित सांसदले सफाई पाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
आजै एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो ।
नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ ठगी गरेको अभियोगमा जेल परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई आजै उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्ने आदेश सुनाएकै दिन महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको छ । अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको छ ।

Advertisement 1

यस अघि खाँणको मुद्धामा गत मंसिर १५ गते न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । न्यायाधीश पाण्डेले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर, अर्का न्यायाधीश खरेलले अहिले नै निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउन नसकिने जनाएका थिए ।

त्यसैले आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाई तोकिएकोमा न्यायाधीश कोइरालाले जनक पाण्डेको रायलाई समर्थन गरेपछि खाँण थुनामुक्त हुने भएका हुन् । खाँणलाई थुनामुक्त गर्नुपर्छ भन्ने दुबै न्यायाधीश कांग्रेस निकट मानिन्छन् ।

Advertisement 2

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी भने थुनामै छन् ।

आजै एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

Advertisement 3

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

प्रकाशित :२०८० मंसिर २८, बिहीबार १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry