पुराना वामपन्थी नेताहरु माधव नेपालको पक्षमा
नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ललितपुरको सानेपामा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट आएका सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरी छलफल हुँदैछ । जसअनुसार, सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको हो। ‘प्रदेश, विभाग र जनवर्गीय संगठन गरेर भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरिएको छ । यस्तै आयोजकहरुले सो भेलाका लागि देशभरबाट झण्डै ३५ सय सहभागी आइपुगेको दावी गरेका छन्। नेपाल–खनाल समूहले प्रधानमन्त्रीको कदमबारे छलफल गरेर आगामी यात्रा तय गर्नका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
यता पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ। भेलामा सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका पुराना वामपन्थी नेताहरु मञ्चमै उपस्थित भएका छन्।
कार्यक्रमको उद्घोषण गरिरहेका गरेका सुरेन्द्र पाण्डेले अन्य पुराना नेताहरु पनि आउँदै गरेको जानकारी गराएका छन्। प्रदीप नेपाल उपचारका लागि नियमित फ्लोअपमा जानु परेकाले उपस्थित हुन नसकेको बताइएको छ।